३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित



अ+ अ-

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ ।

उहाँले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्नुहुन्छ । यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ । व्यावसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्रै होइन, देश नै समृद्ध बन्ने बुझाइ भएका काफ्ले परिवारले आकर्षक आम्दानी पनि गरिरहेका छन् ।

“यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले छ चरणमा २० क्विन्टल फल बेच्दा रु १० लाख र बिरुवा बेचेर रु तीन लाख आम्दानी भइसकेको छ । चार हजार बिरुवा ग्राहक पर्खिएर नर्सरीमा बसिरहेका छन्,” युवा किसान काफ्ले भन्नुभयो । बितेको दुई वर्षमा आठ कट्ठाबाट उत्पादन भएको फल बेचेर रु १३ लाख आम्दानी भएको उहाँले बताउनुभयो । काफ्ले परिवारको १८ कट्ठामा ड्रागन फ्रुटको खेती छ । नौ सय ३० ओटा पोलमा तीन हजार पाँच सय बिरुवा रोपिएको छन् । अहिले नौ सय बोटले फल दिइरहेका छन् । बिरुवा रोपेको पछिल्लो वर्षदेखि प्रतिबोटले वार्षिक १७ पटकसम्म उत्पादन दिने गरेको छ । उहाँले भन्नुभयो, “जेठदेखि कात्तिकसम्म महिनाको तीन पटकसम्म टिप्न सकिन्छ । रोपेको पहिलो वर्ष प्रतिबोट आठ किलोसम्म उत्पादन भएकोबाट बिरुवा रोपेको तेस्रो वर्षबाट प्रतिबोट ४५ किलोसम्म उत्पादन भइराखेकोे छ ।”

युवा किसान काफ्लेले प्रतिबिरुवा रु चार सय ५० मा किनेर रोपेको भए पनि उहाँले अहिले प्रतिबिरुवा रु दुई सयमा बिक्री गर्दै आउनुभएको छ । तीन वर्षअघि आफ्नो ठाउँको वातावरणमा सुहाउँदो जातको तीन सयवटा बिरुवा रोप्नु भएको थियो । बिरुवा रोपेको पछिल्लो वर्षदेखि ड्रागन फल फल्न थाल्यो । दुई वर्षमा रु १३ लाख आम्दानी भएपछि काठमाडौँमा खाद्यान्न पसल गरिरहेका काफ्लेलाई गाउँमै फर्किएर खेती विस्तार गर्न प्रेरित गर्‍यो ।

पसल सुरु गरेको दुई महिना बित्न नपाउँदै कोरोना कहरले कारोबार ठप्प भएपछि छोडेर गाउँ फर्किनुभएका काफ्लेलाई फेरि काठमाडौँ फर्किन मन लागेन । दुई वर्षदेखि उहाँ व्यावसायिक ड्रागन फल खेतीमा रमाइरहनु भएको छ । सुरुमा खेती लगाउन अलि खर्चिलो भए पनि बर्सेनि आम्दानी बढ्दै जाने भएकाले यो व्यवसायमा निराश हुनु नपर्ने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र सिन्धुलीबाट रु दुई लाखको अनुदान लिएर दुई सय पोल थप्नुभएको उहाँले यसै वर्ष डेढ बिगाहमा खेती विस्तार गर्न लागेको बताउनुभयो । उहाँका अनुसार एक पटक रोपेको बिरुवाको आयु २५ वर्षभन्दा धेरै हुन्छ । ड्रागन फलको एक सय ५३ प्रजातिको हुन्छन् । उहाँले रेड सायन जातको ड्रागन खेती विस्तार गरिरहनु भएको छ ।

व्यावसायिक ड्रागन फल खेती विस्तारदेखि बजारमा पुर्‍याउनेसम्मका धेरैजसो काम पाँच जनाको परिवारले धानेको छ । ड्रागन फलको बिरुवा उत्पादन, माटो तयार, रोप्ने तरिकादेखि उत्पादित फल र बिरुवाको बजारीकरणका सम्बन्धमा बुझ्न तथा अवलोकनका लागि कतिपय ठाउँबाट उहाँको मेहनती बहुउद्देश्यीय कृषि फर्म पुग्ने गर्दछन् । युट्युब र गुगलमा अध्ययन गरेकै भरमा पहिलोपटक दुधौलीमा ड्रागनको खेती सुरु गर्नुभएका युवा किसान काफ्ले यस खेतीका सम्बन्धमा तालिम नै दिन सक्ने हुनुभएको छ ।

ड्रागन खेती सुरु गर्दाको पहिलो सङ्घर्ष सुनाउँदै उहाँले भन्नुभयो, “आफूहरुले गोरु नपालेको र ट्र्याक्टरले जोतेर खेती गर्न बाटो नभएकाले छ कट्ठा खेत बाँझै बस्थ्यो । जोत्न नपर्ने र एक पटक रोपेपछि २५ वर्षभन्दा बढी ढुक्क हुने ड्रागन खेतीका बारेमा युट्युब र गुगलमा सर्च गरेर अध्ययन गरी काभ्रेको पात्ले खेतमा भेषमान श्रेष्ठले लगाएको खेती हेरेँँ र आफूले पनि सुरु गरेँँ ।” त्यसपछि अनलाइन फारम भरेर हैदरवादसम्म पुगेर दुईमहिने तालिम लिएपछि व्यावसायिक रुपमा खेती सुरु गरेको उहाँको भनाइ छ ।

वातावरणमा अनुकूलताका आधारमा ड्रागनको जात पहिचान नगरी खेती गर्नाले कतिपय किसानको व्यवसाय घाटामा गएकाले गुणस्तरीय जातको बिरुवा ठाउँको हावापानी र माटोअनुसार मिल्दो पहिचान गर्न उहाँको सुझाव छ । उहाँका अनुसार आफूले बेच्ने गरेको ड्रागनले बिरुवा रोपेको १३ महिनामा फल दिन सुरु गर्छ । उहाँले वार्षिक रु छ लाखको बिरुवा बिक्री गर्दै आउनुभएको छ ।

उहाँको फर्ममा उत्पादन भएका फल र बिरुवा जिल्लाको स्थानीय तथा बाहिरी जिल्ला काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँका बजारहरुमा बिक्री हुँदै आएको छ । समयको मागअनुसार आधुनिक प्रविधिलाई पछ्याउँदै व्यावसायिक कृषि गरेर बजारको अभाव पूर्ति गर्न सके आफ्नो ठाउँको माटोमै मनग्य आम्दानी र कैयौँ अवसरहरु रहेका किसान युवा काफ्लेको बुझाइ छ ।

सरकारी, गैरसरकारी निकाय तथा सामाजिक रुपमा पनि किसान र कृषि पेसालाई हेपाइको दृष्टिले हेरिने भएकाले युवा पुस्तामा खेती, किसानी कर्ममा आकर्षण नभएको उहाँले बताउनुभयो । व्यावसायिक कृषिले मात्र समृद्ध नेपाल बन्ने भएकाले सरकारले देशका बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने तथा दिगो रुपमा व्यावसायिक खेती गर्न सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

पछिल्लो समय ड्रागन फल उत्पादनमा विशेषगरी जिल्लाका पढेलेखेका युवाहरु पनि आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकृत श्रीकृष्ण अधिकारीले स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक र बहुपयोगी फल ड्रागन जिल्लाका सबै स्थानीय तहहरुमा बिस्तारै फस्टाउँदै गएको र आवश्यक प्राविधि सहयोग प्रदान गरिँदै आएको बताउनुभयो । रासस