२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव



अ+ अ-

बेदकोट । कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ ।

केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । “हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “सङ्क्रमित पशुको उपचार भइरहेको छ ।”

खोपको उपलब्धताका लागि पहल भइरहेको उहाँको भनाइ छ । सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । “ज्वरो आउने, र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ”, भीमदत्त नगरपालिका–१३ का प्रमानन्द भट्टले भन्नुभयो, “यस्तै लक्षण देखिएपछि केही महिनाअघि रु ५० हजारमा किनेको भैँसी मर्यो, अहिले गोठ रित्तो छ ।”

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । दैनिक २०–२५ पशुचौपायामा सङ्क्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको सङ्क्रमणका कारण दुई सय पशुचौपाया मरेका छन् । सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा सङ्क्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताउनुभयो । गाईगोरुमा लम्पी स्किनको सङ्क्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन् ।

“लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो सङ्क्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ”, बेदकोट नगरपालिकाका मनोज जोशीले भन्नुभयो, “बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ ।” सङ्क्रमणविरुद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ ।

लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिनुभयो । “औषधोपचारबाट पनि धेरै सङ्क्रमित चौपाया निको भएका छन्, तर केही समय लाग्ने गरेको छ, औषधोपचारमा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले हामीले सङ्क्रमण देखिएको चौपायाको उपचार गर्ने कार्य गरिरहेका छौँ ।” रासस