१७ माघ २०८१, बिहीबार
,
Latest
पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प संसद् बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना अदालतको आदेशपछि अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित पूर्वराजा ज्ञानेन्द्र शाह गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज आजदेखि, नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो एक महिनामा ७४ प्रतिशतले महँगियो तरकारीको भाउ



अ+ अ-

काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ ।

खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।

यस्तै साउन १६ गते ४५ रुपियाँमा थोकमा कारोबार भएको तनेबोडी भदौको ४ गते मूल्य बढेर ११० रुपियाँ थोकमै पुगेको छ । खुद्रामा यसको मूल्य प्रतिकेजीको २२० रुपियाँसम्म किनबेच भएको छ । यस्तै सो अवधिमा सेतो मुला ३७ मा कारोबार भएकामा अहिले बढेर ७६ रुपियाँ रहेको छ ।

स्थानीय काउली प्रतिकेजी ६८ रुपियाँबाट ८८ रुपियाँ, मकैबोडी ६६ रुपियाँबाट ८५ रुपियाँमा थोकमा किनबेच भइरहेको छ । यस्तै भदौ ४ गते भटमास प्रतिकेजी १०४ रुपियाँ, तितेकरेला प्रतिकेजी ५० रुपियाँ, लौका प्रतिकेजी ८० रुपियाँ, परबर प्रतिकेजी ७० रुपियाँ, घिरौँला प्रतिकेजी ५० रुपियाँ र भिन्डी प्रतिकेजी ५० रुपियाँमा किनबेच भएको छ । यसको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ ।

चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।