५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङका किसानले स्याउ टिप्न थाले



फाईल फोटो
अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।

मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । “केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ”, उहाँले भन्नुभयो । टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षितरुपमा बजारसम्म पुर्‍याउने गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ ।

त्यसैगरी किसान सङ्गीता गुरुङ तमुले स्याउ टिपेर बजारमा पुर्‍याउन प्याकेजिङको काम भइरहेको बताउनुभयो । मनाङमा उत्पादित स्याउ नेपालकै विभिन्न बजारमा खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । “स्याउ स्वादिलो र रसिलो हुनेहुँदा स्थानीय बजारमा नै खपत हुन्छ, विदेशसम्म पुग्नै पाउदैन”, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित स्याउ बजारसम्म सुरक्षितरुपमा सग्लै पुर्‍याउन भने कठिन छ । सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ पूरै बिक्री हुन नपाएको किसान सोलबहादुरले बताउनुभयो । “बाटोका कारणले बिक्रीका लागि ल्याइएकामध्ये आधा फाल्नुपर्ने अवस्था छ, बजारसम्म पुग्ने सडक सहज भइदिएको भए किसान खुसी हुने थिए”, उहाँले भन्नुभयो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ विशेषगरी काठमाडौँ र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिनुभयो । “लामो बाटो छ, सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्, बाटो सहज भएमा यहाँका किसानको आय अझ वृद्धि हुन्छ”, उहाँले भन्नुभयो । कोभिड सङ्क्रमणको समयमा यहाँका स्याउ बजारसम्म पुर्‍याउन सकस भए पनि यस वर्ष स्याउको उत्पादन बढेको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पुर्‍याउन सकस रहेको छ । बाटो सहज बनाउन समय लाग्ने भएमा यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था रहेको छ । हाल सडकअवरुद्ध भएमा तत्कालै सहज बनाउनका लागि डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले विभिन्न स्थानमा स्काभेटर राखेर सहज बनाउने काम गरेको छ ।रासस