२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य



अ+ अ-

गलकोट । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ।

चार किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ ।

तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा रु एक करोड नौ लाख खर्चेर घरघरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताउनुभयो ।

विसं २०५८ बाटै छरिखोलाबाट पानी ल्याउन थाले पनि व्यवस्थित नुहँदा सामुदायिक धाराका कारण खानेपानीको समस्या भएको र अहिले घरघरमै २४सै घन्टा खानेपानीको सुविधा भएको उहाँको भनाइ छ ।

“काठेखोला पुगेर पानी लिएको पुर्खाले बताएको सुन्दै आएका थियौँ, अहिले घरघरमै खानेपानीको धारा आएको छ, पहिलाको पानी व्यवस्थित नहुँदा समस्या थियो, हिउँदमा त पानी भर्न पालो कुर्नुपर्ने अवस्था थियो”, स्थानीय मुरारी शर्माले भन्नुभयो, “बागलुङ नगरपालिकाको पहलकदमीलाई विशेष धन्यवाद दिन चाहान्छौँ, बागलुङ बजारसँग जोडिएको गाउँ भए पनि बत्तीमुनिको अँध्यारो जस्तो भएको थियो रातमाटा, यहाँको खानेपानीको दु:ख, सङ्घर्ष र पीडा भनीसाध्य थिएन, अहिले विकासको महसुस गरेका छौँ ।”

पटकपटक खानेपानी आयोजना परे पनि व्यवस्थित नहुँदा खानेपानीको दु:ख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा एक सय ८१ धारा बनेकामा एक सय ७५ घर र छ वटा सार्वजनिकस्थल तथा विद्यालयलगायतका स्थानमा धारा निर्माण गरिएको हो ।

रातमाटामा खानेपानीको दु:ख पहिलेदेखि सुन्दै आएको बताउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले तीन महिनामा रु एक करोड नौ लाखको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालभित्रै सर्र्भे गरेको योजना यतिछिट्टै सम्पन्न भएर आफ्नै हातले उद्घाटन गर्न पाएकामा नेवालाई धन्यवाद दिनुभयो ।

“नेवाको साझेदारीमा एक वर्षभित्रै सङ्कटग्रस्त क्षेत्र लङ्गाउँमा लिफ्टमार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रातमाटामा एक सय ८१ घरमा खानेपानी पुर्‍याएको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “खानेपानीको दु:ख रहेको रातमाटाका घरघरमा धारा बन्दा स्थानीयको दैनिकी फेरिने भयो ।”

नेवाको रु ६७ लाख ५९ हजार नौ सय ८५, नगरपालिकाको रु १६ लाख ९३ हजार सात सय ९४, स्थानीय समुदायको नगद रु छ लाख ३४ हजार एक सय ८३ र स्थानीयको श्रमदान बराबरको रु १९ लाख ६९ लाख नौ सय १६ गरी रु एक करोड नौ लाख ७५ हजार सात सय ५७ रकममा उक्त खानेपानी आयोजना निर्माण सुरु भएको तीन महिनामै सकिएको रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव दिपक शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार आयोजना सम्पन्न गर्न नेवासँग २०७९ पुस २६ गते सम्झौता भए पनि चैतदेखि निर्माणको काम थालिएकामा निर्माण सुरु भएको तीन महिनामै खानेपानी आयोजनाको काम सकिएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइपलाइनसहित घरमा घारा पुर्‍याउँदासम्म १८ किलोमिटर पाइपलाइन, तीन वटा इन्टेक, पाँच वटा वितरण ट्याङ्कीमार्फत रातमाटा गाउँका घरघरमा धारा वितरण गरिएको बताउनुभयो ।

खानेपानीको चरम सङ्कट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा ‘एक घर, एक धारा’ निर्माण गरिरहेको जनाउँदै नेवा बागलुङका कार्यालय प्रमुख रमेश दाहालले बागलुङको रातमाटासहितका ठाउँमा पाँच वर्षमा पाँच हजार धारा निर्माण गरिएको बताउनुभयो ।

विसं २०५८ मा ‘रातमाटाको नारा घरघरमा खानेपानीको धारा’ भन्ने गरिएको अभियान अहिले आएर मात्रै पूरा भएको स्थानीय लक्ष्मी शर्माले जानकारी दिनुभयो । “पहिलेको पानी व्यवस्थित थिएन, बिहान बेलुका मात्रै पानी आउथ्यो, हिउँदमा त खानेपानीको भर नै थिएन, अहिले खानेपानी जतिबेला खोल्दासमेत आउँछ”, शर्माले भन्नुभयो, “अहिले त महिलाको दैनिकी पानीका लागि व्यवस्थापन गर्नु पर्दैन, खानेपानीले रातमाटावासीमा खुसियाली छाएको छ ।” रासस