२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी हुनुभएको छ ।

आफूले सो कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिनुभयो । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको फिलिपिन्सको बांसामोरो स्वायत्त मुस्लिम प्रदेश हो ।

यहाँ सन् २०२५ मा तोकिएको निर्वाचनका लागि हाल त्यहाँ समावेशी निर्वाचन प्रणालीको कानुन निर्माण भइरहेको छ । सोही कानुन निर्माणमा डा रिजाल सहभागी हुनुभएको हो ।

सो निर्वाचनमा विभिन्न आठवटा क्लस्टरको प्रतिनिधित्व गराउने गरी कानुन निर्माण गर्ने तयारी रहेको डा रिजालले जानकारी दिनुभयो । “महिला, युवा, उलामा (इस्लाम गुरु), सुल्तान र सुल्तानका प्रतिनिधि गैरमुस्लिम आदिवासी जनजाति, फिलिपिन्सको मूल प्रदेशबाट बसाइँ सरी यहाँ आएका बासिन्दासमेतको सहभागितामा निर्वाचन गराउने र सोहीअनुसार कानुन बनाउनुपर्ने जानकारी उहाँले दिनुभयो ।

सो परामर्शदाता समूहले त्यहाँका स्थानीय बासिन्दा, विभिन्न क्लस्टरका प्रतिनिधि, राजनीतिक नेतृत्व, मुख्यमन्त्री, सभामुखलगायतसँग आवश्यक छलफल र परामर्श गरिरहेको छ । सन् २०२५ मा हुने निर्वाचनमा सबै पक्षको सहभागिता गराउने काम चुनौतीपूर्ण रहेको र सोहीबमोजिमको निर्वाचन प्रणालीको कानुन निर्माणमा यहाँको नेतृत्व सचेत रहेको आफूले पाएको डा रिजालले बताउनुभयो ।

उहाँले बांसामोराका मुख्यमन्त्री अहोड बी इब्राहिम, त्यहाँका सभामुखलगायत शीर्षनेतासँग छलफल गरिरहनुभएको छ । पूर्वरक्षामन्त्रीसमेत रहेका डा रिजाललाई संसद् बैठक चलिरहेका बेला मुख्यमन्त्री इब्राहिमले निर्वाचन कानुनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा डा रिजाल सहभागी भएको जानकारी गराएपछि सभामुखले संसद् बैठक स्थगित गरी सबै सांसदहरूसँग उहाँको परिचय गराउनुभएको थियो ।

संविधानसभा सदस्य तथा पूर्वसांसद रिजालले नेपालले पनि फिलिपिन्सबाट पाठ सिक्नुपर्ने बताउनुभयो । “नेपाल पनि द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको देश हो । अझै हाम्रोमा द्वन्द्वको धङधङी गएको छैन । शान्ति प्रक्रियामा आएको छोटो समयमै फिलिपिन्सले देखाएको एकता र शान्तिप्रतिको प्रतिबद्धता नेपालका लागि उदाहरणीय बन्न सक्छ ।”

अमेरिकाको न्यूयोर्क युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका रिजाल अध्यापनमा पनि संलग्न रही आउनुभएको छ । अन्तर्राष्ट्रिय कानुनका जानकार उहाँ विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा यसैगरी परामर्शदाता एवं विषयविज्ञका रूपमा सहभागी हुँदै आउनुभएको छ ।रासस