काठमाडौं। नेकपा एमाले भित्रको अन्तरसघर्ष केही हदसम्म सल्टिएपछि आसन्न राष्ट्रियसभाको उपनिर्वाचन तीर धेरैको चासो बढेको छ । बिपक्षीदल तथा एमाले नेपाल– खनाल समूहको समर्थनमा समेत उम्मेदवार बन्नु भएका डा. खिमलाल देवकोटाको उम्मेदवारीलाई लिएर बिभिन्न आशंकाहरु भई रहेका बेला देवकोटाले आफ्नो उम्मेदवारीमा पुर्नविचार नगर्ने स्पष्ट पार्नुभएको छ ।
सामाजिक संञ्जालमा एक स्टाटस राख्दै देबकोटाले नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय भएको जनाउनु भएको छ ।
उहाँले लेख्नुभएको छ – २०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन ।
राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।
निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।
नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।
हार्दिक कृतज्ञता सहित
डा.खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार
वागमती प्रदेश











