२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार



अ+ अ-

डोटी । जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ । 

चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार सेवा दिन थालेका छन् । पालिकामा रहेको स्वास्थ्य कार्यालयमा कोभिड अस्पताल सञ्चालन गरी दश श्ययासहितको आइसोलेशन कक्ष तयार गरी कोरोना सङ्क्रमितको उपचार गर्ने योजनाअनुसार उपचार कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

गाउँपालिकामै  कोरोना सङ्क्रमितको उपचार गर्ने जिल्लामा बडिकेदार पहिलो गाउँपालिका भएको अध्यक्ष चन्दको जिकिर छ । उहाँका अनुसार आइसोलेशनसमेत दश श्ययामा अक्सिजन सहितको व्यवस्था पनि मिलाइएको छ । गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार प्रक्रिया शुरु भएको गाउँपालिकामा कार्यरत चिकित्सक डा सुरज श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पालिकाको निर्णयअनुसार हामीले दश श्ययासहित अक्सिजनको व्यवस्था गरी कोरोना सङ्क्रमितको उपचार गर्न शुरु गरेका छौँ, कोरोना लागिहाले उपचार नपाएर मर्ने चिन्ता केही हदसम्म अन्त हुने भएको छ ।” यसभन्दा पहिले उक्त गाउँपालिकामा कोरोना सङ्क्रमित भएका व्यक्तिलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालमा लैजानुपर्ने अवस्था रहेको थियो ।

गाउँमै कोरोना सङ्क्रमितको उपचार गरिन थालेपछि सङ्क्रमितलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने समस्या समाधान भएको भन्दै स्थानीयवासी खुशी भएका बडिकेदार–१ का प्रकाश कलेलले जानकारी दिनुभयो । अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्न शुरु गरेपछि सङ्क्रमित बढ्दै गए अक्सिजनको अभाव हुने भन्दै चिन्ता थपिएको डा श्रेष्ठले जानकारी दिनुभयो । 

पालिकाले सञ्चालनमा ल्याएको उक्त कोभिड अस्पतालमा अहिले एक चिकित्सक, मेडिकल अधिकृत, एक हेल्थ असिसटेन्ट, एक अनमी, एक सिएमए र एक कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कूल १३ कोरोना सङ्क्रमित रहेकामा १२ को होम आइसोलेशन तथा एक जनाको कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिमा हालसम्म कूल ४२१ जनामा कोरोना सङ्क्रमण भएको छ । रासस