२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादका विषय समूहमा भन्न असजिलो हुन्छ, मेलमिलापका लागि छुट्टै कक्ष चाहिन्छ: उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । ‘विवादका पक्षहरुका कुरा समूहमा भन्न असजिलो हुन्छ । कतिपय अवस्थामा अन्तरङ्ग कुरा पनि हुन सक्छ । यस्ता कुरा गर्दा व्यक्तिको गोपनीयताको हकको ख्याल गर्नुपर्छ ।

नितान्त कुरा समूहमा आउँदा त्यसले पार्ने प्रभाव आँकलन गर्नुपर्छ ।’ मेलमिलाप कक्ष स्थापना र उपयोगका सन्दर्भमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘महानगरपालिकाका सबै वडाहरुमा मेलमिलापको अभ्यास भइरहेको छ । ठाउँ अभावका कारण कतिपय वडामा सोचेको जस्तो व्यवस्थित हुन सकेको छैन । यो हाम्रो प्राथमिक कार्यक्रम हो ।’ उहाँले वडा नं. २३ को नयाँ भवनमा स्थापना गरिएको मेलमिलाप कक्षको शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो ।

‘कार्यालय प्रयोजनका लागि हामीले सुल्झाएका विवादहरुको अभिलेखन कार्यलाई व्यवस्थित गर्नुपर्छ । यसबाट दुईवटा फाइदा हुन्छन् । एउटा घटनाको प्रकृति हेरेर सामाजिक मनोविज्ञान अध्ययन गर्न सकिन्छ । अर्को, हामीले गरेका प्रयत्न र प्राप्त नतिजालाई अङ्कमा देखाउन सकिन्छ । यो अभिलेखन केवल कार्यालय प्रयोजनका लागि मात्र हुनेछ ।’

यो बर्षका अन्त्यमा विवाद समाधान तथा मेलामिलाप सम्बन्धी वडास्तरीय विवरणको तुलनात्मक विश्लेषण गरिने, उहाँको भनाइ थियो ।

त्यस क्रममा बोल्दै वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले, आएकामध्ये ८० प्रतिशतभन्दा धेरै विवाद कार्यकक्षमै समाधान हुने गरेको अनुभव सुनाउनुभयो । ‘आपसी असझदारीलाई विवादका रुपमा होइन, छलफलका रुपमा आपसी कुरा सुन्छौँ । यसरी कुरा गर्दागर्दै विवाद टुङ्गोमा पुग्छ ।’ महर्जनले भन्नुभयो, ‘हाम्रो वडाबाट न्यायिक समितिमा धेरै विवाद गएकै छैनन् । हामी चाहन्छौँ, सबै वडामध्ये हाम्रो वडाबाट केन्द्रमा विवाद नजाओस् । गए पनि संख्या असाध्यै न्यून होस् ।’

यस अघि वडाले कार्यालय सञ्चालन भएको ठाउँमा मेलमिलाप गराउने गरेको थियो । महिला सञ्जाल र मेलमिलाप केन्द्रका लागि छुट्टै कक्ष चाहिने भएपछि ओमबहालमा भाडामा लिएर कक्ष स्थापना गरेको हो ।
उद्घाटनपछि उपप्रमुख डंगोलले, महिला सञ्जालको कार्य कक्ष र मेलमिलाप कक्षको निरीक्षण गर्नुभएको थियो ।

कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यका अनुसार वडा नं. १३ मा छुट्टै कक्ष स्थापना गर्न सकिएको छैन । भाडामा ठाउँ पनि पाइएको छैन । यसकारण जनप्रतिनिधिको कार्य कक्षमा मेलमिलापको अभ्यास गर्ने गरिएको छ । भाडामा ठाउँ लिन नपाएका र आफ्नै भवनमा पनि छुट्टै कक्ष स्थापना गर्न ठाउँ नभएका वडामा कार्यालय समय अगाडि पछाडि पारेर जनप्रतिनिधिकै कार्य कक्षमा मेलमिलाप गराउने गरिएको छ । धेरै वडामा कक्ष स्थापना भइसकेका छन् । ती कक्षलाई व्यवस्थित गर्न निरन्तर काम हुनेछ ।