• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम



काठमाडौं । नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम रहेको र दुवै मुलुकले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाल–पाकिस्तान सहयोग र भविष्यका सम्भावना’ विषयक कार्यक्रममा उहाँहरूले द्विपक्षीय सहयोगले व्यापार र पर्यटनमा सहयोग, संयुक्त उद्यमका साथै आर्थिक, औद्योगिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग जस्ता विभिन्न क्षेत्रलाई समेटेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएको उल्लेख गर्दै यस्ता भ्रमणको आदानप्रदानले द्विपक्षीय मित्रता र सहयोगलाई सुदृढ र प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो ।

नेपाल र पाकिस्तानबीच सन् १९६० मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

दुवै देशले स्वतन्त्रता, सार्वभौमता, र अहस्तक्षेपको सिद्धान्तको आपसी सम्मान गर्दै आएको बताउँदै उहाँले नेपाल र पाकिस्तानबीच औपचारिक भ्रमणका साथै अन्तर्राष्ट्रिय मञ्चका आवसरमा साइडलाइन बैठक समेत हुँदै आएको स्मरण गर्नुभयो ।

दुवै देशबीच जनता, सरकार र व्यापारीबीच सहयोगको लामो इतिहास रहेको बताउँदै राजदूत हाश्मीले समान भाषा संस्कृति रहेको दुवै मुलुकले पछिल्लो समय जलवायु परिवर्तनका समान असरको समेत सामना गर्नुपरेको धारणा व्यक्त गर्नुभयो । दुवै विकासोन्मुख देशले समान विकासका चुनौतीको सामान गर्दै आएको बताउँदै उहाँले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र पाकिस्तानले क्षेत्रीय र विश्वव्यापी सरोकारका विषयमा समान दृष्टिकोण राख्दै आएको बताउँदै दुवै देशबीचको सम्बन्ध नेपालको सगरमाथा र पाकिस्तानको माउन्ट के टु जस्तै मैत्रीपूर्ण, विश्वासयोग्य, सौहार्दपूर्ण र बलियो रहेको उल्लेख गर्नुभयो ।

पाकिस्तानले नेपालको विकास प्रयासमा औद्योगिक परियोजनामा सहयोगका साथै नेपाली विद्यार्थीलाई उच्च अध्ययनका लागि छात्रवृत्ति प्रदान गरी सहयोग गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

द्विपक्षीय सहयोगको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रमा दुवै देशलाई सुन्दर हिमाल र रमणीयस्थल प्रदान गरेको उल्लेख गर्दै उहाँले यसलाई देश र जनताको समृद्धिको क्षेत्रमा उपयोग गर्न संयुक्तरूपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । दुवै देशका राजदूतावासले लगानी, व्यापार र पर्यटनका क्षेत्रमा थप सहयोग प्रवर्द्धन गर्न संयुक्तरूपमा काम गर्नुपर्ने उहाँको धारणा थियो ।रासस