२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

देशभर कोरोना कहर, पोखरालाई पर्यटनकै पिर

देशभर कोरोना कहर, पोखरालाई पर्यटनकै पिर
अ अ+ अ-

गण्डकी । अघिल्लो वर्ष विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावका बाबजुद जेनतेन व्यवसायसम्म जोगाएर बसेका पोखराका पर्यटन व्यवसायी पुनः दोस्रो लहरको महामारीबाट भने मर्माहत भएका छन् । कोरोना भाइरसको दोस्रो लहर बस्ती बस्तीसम्मै फैलिन थालेसँगै यहाँका व्यवसायी व्यवसाय डुब्ने चिन्तामा परेका हुन् ।  

पोखराको पर्यटनमा सम्भावना देखेर नै लगानी गर्न हौसिएका व्यवसायीलाई अहिले भने के गरौँ कसो गरौँ भन्ने भएको छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाल र यहाँको सुन्दर शहरमा विदेशी पर्यटकलाई सेवा दिएर लोभ्याउने व्यवसायी यतिखेर कोरोना कहरको पिरालोमा परेका छन् । स्वदेशी र विदेशी पर्यटकहरु ओइरिएर रमाइलो गर्ने गरेको पोखरा अहिले सुनसान छ । लाग्छ यहाँको यो सुन्दरता पनि अहिले त फिक्का जस्तै बनेको छ । फेवा, वेगनासलगायत वरपरका तालतलैयामा टलपलाइरहेको पानीले अहिले पर्यटकको स्वागत गर्न पाएको छैन । यो समयमा भरिभराउ हुने यहाँका होटल सुनसान छ भने संसारका पर्यटकको मन लोभ्याउने यहाँका प्राकृतिक छटाले आफ्नो सुन्दर स्वरुप कसैलाई देखाउन पाएका छैनन् ।

गतवर्ष एक पछि अर्को याम हुँदै पोखराको पर्यटनका सबै यामहरू कोरोनाकै कारण सुनसान बने । यस वर्ष भने यहाँका पर्यटन व्यवसायीलाई जनवरीदेखि शुरु हुने पर्यटनको याममा केही न केही पर्यटक आउने आशा थियो । त्यही आशा एवं विश्वासका साथ यहाँका पर्यटन सम्बद्ध संघ संस्थाहरूको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम समेत सम्पन्न भए । विस्तारै पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउने आशा बढीरहेका अवस्थामा एकाएक फैलिएको दोस्रो लहरको कोरोना कहरले आँफूहरूलाई थप चिन्तित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।

“दोस्रो लहरसँगै अब व्यवसायलाई कसरी बचाउने भन्ने गम्भीर चिन्ता छ”, उहाँले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण कसरी तिर्ने भन्ने समस्याले व्यवसायीलाई अहोरात्र ग्रसित बनाएको छ ।” सरकारले अब ल्याउने बजेटमा व्यवसायलाई बचाउने केही न केही उपाय समेट्नुपर्नेमा  जोड दिँदै उहाँले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण तत्काल तिर्नसक्ने अवस्था नभएका कारण ऋणको म्याद अवधि न्यूनतम दुई वर्ष थप्नुपर्ने बताउनुभयो । व्यवसायलाई बचाउनु नै अहिलेको आवश्यकता भएका कारण बैंक तथा वित्तीय संस्थामा लिइने ऋणको व्याजदर पाँच प्रतिशत बनाउने तर्फ नेपाल राष्ट्र बैंकले पहलकदमी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

व्यवसाय रक्षाका लागि अघिल्लो वर्ष मौद्रिक नीति मार्फत सम्बोधन गर्न खोजिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले प्रदेश सरकारले राखेको व्यवसाय जीवन रक्षा कोषको पनि प्रभावकारी कार्यान्वयन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । व्यवसायको रक्षाका लागि राज्यबाट दिइने सेवा सुविधा साना तथा मझौला सबै किसिमका व्यवसायीले पाउनुपर्ने भट्टराईको भनाइ छ ।

व्यवसायीहरूले पर्यटन व्यवसायलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष एवं होटेल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले सङ्कटग्रस्त पर्यटन क्षेत्रलाई जोगाउने गरी सरकारले नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको र सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने पर्यटन व्यवसायीलाई हालसम्म पनि कोरोनाको भ्याक्सिन नदिइएको उहाँले बताउनुभयो । 

“स्वास्थ्य सुरक्षा सजगताका लागि पर्यटन व्यवसायीलाई स्वास्थ्य, सुरक्षा, सञ्चार जस्तै क्षेत्रका व्यक्तिलाई झैं प्राथमिकताका साथ भ्याक्सिन लगाउनुपर्ने भए पनि त्यो अझै हुन सकेको छैन”, उहाँले भन्नुभयो । व्यवसायीका अुनसार हाल पोखरामा सात सय पर्यटकीय होटेलसहित पर्यटकीय क्षेत्रमा खर्बौंको लगानी रहेको छ । कोरोना कहरका कारण व्यवसाय बन्द हुँदा यहाँको पर्यटनले दैनिक करोडभन्दा बढी घाटा भोगिरहेको छ । 

अघिल्ला वर्षहरुमा नियमित मात्र नभएर अघिल्लो वर्ष नेपाल भ्रमण वर्ष, गण्डकी प्रदेश भ्रमण वर्ष आदिका नाममा यहाँका पर्यटन व्यवसायीले अधिकतम पर्यटक भित्राउने लक्ष्यका साथ ठूलै लगानीमा पूर्वाधारहरू निर्माण गरेका थिए । पोखराको पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग पर्यटनको राजधानी घोषणा गर्न माग गरिसकेको छ । 

तथ्याङकअनुसार पोखराका होटेल तथा रिसोर्टमा ७०० व्यवसायी आवद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार २९८ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै रेष्टुरेन्ट तथा बार तर्फ एक सय जना व्यवसायी आवद्ध छन् । यसमा एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैकको लगानी छ । ट्रेकिङ एजेन्सिज तर्फ १५९ व्यवसायी आवद्ध भएका छन् जस मध्ये ३२ करोड रुपैयाँ व्यवसायीको आफ्नै  लगानी छ भने ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सिज तर्फ १८१ जना व्यवसायी आवद्ध भएकोमा उनीहरूको आफ्नै लगानी ७९ करोड ७५ लाख ५० हजार रुपैयाँ छ भने १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ । पोखरामा पर्यटन सम्बद्ध प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट सप, इम्ब्रोडयरी एण्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसायी, गाउँ पर्यटन, पर्वतारोहण आदिमा व्यवसायीको करौडौँ रुपैयाँ लगानी छ भने बैंकको लगानी पनि त्यत्तिकै रहेको छ । पोखरामा सबै किसिमका पर्यटनसम्बद्ध व्यवसायमा झण्डै २१ हजार जनशक्तिले रोजगारी पाएका छन् । कोरोना कहरका कारण व्यवसाय नै बन्द हुँदा यस क्षेत्रमा खटिने जनशक्तिलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईको भनाइ छ ।   

पोखरामा आन्तरिक पर्यटकका साथै चिनियाँ र युरोपेली मुलुकबाट विदेशी पर्यटक ठूलै सङ्ख्यामा आउने गर्दथे । नेपालमा समय समयमा पर्यटन क्षेत्रले विभिन्न व्यवधान झेल्ने गरेको भए पनि यस पटक भने कोरोना कहरले लामै समय समस्या भोग्नुपरेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पसहित त्यसयता भएका नाकाबन्दी, टर्किस् एयरको जहाज दुर्घटना, अन्नपूर्ण क्षेत्रको हुदहुद आँधी, डेङ्गु, बर्डफ्लू, बाढीपहिरोजस्ता धेरै घटनाक्रमले यहाँको पर्यटन क्षेत्र प्रभावित भए पनि यति लामो समयसम्म पर्यटन क्षेत्र ठप्प बनेको भने पहिलो पटक भएको व्यवसायीको अनुभव छ ।

कोरोना कहरको यस समयमा राज्यका नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ ९निट० गण्डकी प्रदेशका अध्यक्ष सोम थापा गम्भीर सङ्कटमा परेका पर्यटनजन्य व्यवसायलाई धान्नका लागि राज्यको तत्काल ध्यान पुग्नुपर्ने बताउनुहुन्छ ।

कोरोनाको दोस्रो लहर झन् डरलाग्दो किसिमले आएको बताउँदै उहाँले महामारीसँग बच्नका लागि सचेतता अपनाउनुको विकल्प नभएको बताउनुभयो । यसको मारमा खासगरी पोखराको पर्यटन क्षेत्र बढी नै मर्कामा परेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “गतवर्षको चैत महिनाबाट देशमा लगभग बन्दाबन्दीकै अवस्था जारी नै छ । बीचमा केही खुलेजस्तो भए पनि केही महिनापछि फेरि अहिलेको दोस्रो लहरले यहाँको व्यवसायमाथि नै धाबा बोलेको देखिन्छ । यस्तो अवस्थामा केही पनि गर्न नसक्ने जस्तो अवस्थामा बसेका छौँ, त्यसैले हामीलाई राज्यको साथ र सहयोग चाहिन्छ ।” 

पोखरामा पछिल्ला वर्षमा सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करिब ४० प्रतिशत आउने गरेका छन् । दृश्यावलोकनका साथै पोखरा र आसपासमा सञ्चालन हुँदै आएका प्यारग्लाइडिङ, बन्जी जम्प, जीपलाइन लगायतमा कोरोना कहरले प्रत्यक्ष प्रभाव पारेको छ ।  यसका साथै पोखरा हुँदै जाने अन्नपूर्ण, मर्दी जस्ता चर्चित पदमार्ग र आसपासमा सञ्चालित घरबास आदि कोरोना कहरको दोस्रो लहरले प्रत्यक्ष प्रभावित भैरहेको व्यवसायी बताउँछन् । 

नेपाल भ्रमण वर्ष सन् २०२० मा नेपालमा कम्तीमा २० लाख पर्यटक भित्र्याउने गरी नेपाल सरकारले घोषणा गर्यो र तयारी थाल्यो । त्यस कार्यक्रमलाई लक्ष्य गरेर पोखराका पर्यटन व्यवसायीहरुले पनि अरबौँ रुपैयाँ लगानी गरे तर त्यो लगानी सबै खेर नै गएको छ भन्दा हुन्छ । सोही वर्षका लागि लक्ष्य गरेर निर्माण भएका भौतिक संरचनादेखि अन्य पूर्वाधारहरुका लागि लिएको बैंकको व्याज तिर्न नसक्ने अवस्थामा नै पर्यटक पुगेको उनीहरुको गुनासो । यसरी देशभरि कोरोनाको कहर छ र नागरिकको ज्यान गइरहेको छ । तर पनि पोखरेलीलाई भने पर्यटनकै पिर परेको छ । 

–वासुदेव पौडेल