• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

ललिता निवास जग्गा प्रकरण: माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुल्यो



काठमाडाैं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा कुमार चुडालको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । तत्कालीन समायमा सरकारको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्को बैठकबाट उक्त जग्गासम्बन्धी विषयमा निर्णय गराउनुभएको थियो ।

आदेशमा भनिएको छ, “मिति २०६६/१२/२९ र मिति २०६७/१/३१, २०६७/४/२८ तथा मिति २०६९/६/१८ को नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुने, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’ को माथिल्लो तह) बाट गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु/गराउनु ।”

नेपाल सरकारको जग्गा व्यक्तिका नाममा गएको र त्यस्ता निर्णयाधिकारी अनुसन्धानको दायरामा नभई लगाएको काम गर्ने स्तरका कर्मचारी एवं सम्पत्ति लगानी गरी जग्गा खरिद गर्ने समेततर्फ अनुसन्धान बढी केन्द्रित भएको अवस्था देखिँदा न्याय प्रणालीप्रतिको आम विश्वासको जोखिमतालाई मध्यनजर गर्दै प्रस्तुत सङ्गठित अपराधका विषयमाथि उक्त प्रकरण जोडिएको आदेशमा उल्लेख छ ।

उक्त प्रकरणमा जोडिएका योगराज न्यौपानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइमाथि उक्त आदेश आएको हो । ललिता निवासको जग्गा प्रकरणमा अब पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ ।

तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने उल्लेख गर्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो । त्यस्तै भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो । रासस
–––