२४ श्रावण २०८३, आईतवार
,
Latest
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन



अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गर्नुभएको छ । उहाँले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गर्नुभएको हो ।

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहनुभएका चन्दले थाल्नुभएको बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि रू पाँच करोड लगानी भइसकेको चन्दले बताउनुभयो । उहाँका अनुसार फार्ममा हाल एक सय ५० उन्नत जातका बाख्रा छन् ।

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिनुभयो । सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत फार्ममा रहेको उहाँले बताउनुभयो । उक्त बोकाको तौल एक सय ८० किलो छ ।

चन्दले भन्नुभयो, “पाँच/छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।” उहाँले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थियो ।

“बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिए”, चन्दले भन्नुभयो, “अहिले सिरोही, तोतापरीलगायत पाँच/छ उन्नत जातका गरी एक सय ५० बाख्रा छन् ।”

कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएका चन्दले छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उहाँका अनुसार बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो, “यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ ।”

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताउनुभयो । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उहाँको भनाइ थियो ।

“गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ”, चन्दले भन्नुभयो । बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना रहेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नुपर्नमा उहाँले जोड दिनुभयो ।

बुवाबाजेको आठसय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताउनुभयो । “नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ, उहाँले भन्नुभयो ।” रासस