२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड



अ+ अ-
झापा । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् ।
मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन् ।
मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताउनुभयो । सो अस्पतालमा दैनिक एक हजार दुई सय बिरामी ओपिडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका बिरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उहाँले बताउनुभयो ।
बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले सङ्क्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने बताउनुभयो । उहाँले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिँदै आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्नेसमेत बताउनुभयो ।
दाहालले बिर्तामोड आँखा अस्पतालमा दैनिक आउने छ सय बिरामीमध्ये तीन सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिनुभयो । गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस सङ्क्रमित हुने बताउनुभयो । उहाँले विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको बताउनुभयो ।
मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताउनुभयो । ‘भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उहाँले जानकारी दिनुभयो ।
मेचीनगर–४ बाहुनडाँगीकी १४ वर्षीया रोशिका तामाङले सुरुमा आँखा बिझाउने र विस्तारै रातो हुने र सुन्निने समस्या देखापरेपछि काँकडभिट्टाको मेची नेत्रालयमा उपचारका लागि गएको बताउनुभयो । अस्पतालमा उपचार गराएको एक हप्तापछि अलि राम्रो हुन थालेको बताउनुभयो ।
मोबाइल, कपडालगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग परिवारका सदस्य र साथीहरूमा सजिलै सर्ने चिकित्सक बताउँछन् । काँकडभिट्टा आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बिएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका सङ्क्रमित उपचारका लागि भीड लाग्ने गरेको पाइएको छ । रासस