२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु



symbolic picture
अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ ।

यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समयमा हुने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र वर्षात्मा सङ्क्रमण बढी देखिने गरेको छ, असोजसम्म बढी जोखिम हुन्छ ।”

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताउनुभयो ।

तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ । निर्देशनालयको तथ्याङ्कले पहाडी जिल्लामा पनि डेङ्गुको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ । उहाँले भन्नुभयो, “लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि सङ्क्रमण बढ्दै गएको छ, पहाडी जिल्लामा पनि सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ ।”

वर्षातमा दैनिकरूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्दछन् ।

यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ । रासस