२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाः समुद्री आँधी टाउटेको प्रभाव नेपालमा पनि पर्न सक्ने



सगरमाथा हिम शिखर
अ+ अ-

काठमाडौं । पूर्वीमध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी टाउटेको प्रभाव नेपालको हिमालय क्षेत्रमा पनि पर्ने मौसमविद्हरूले बताएका छन्। त्यसबाट यो साता सगरमाथा आरोहण पनि प्रभावित हुने देखिएको पर्वतारोही र नेपाली अधिकारीहरूले बताएका छन्। दुई सयभन्दा बढी आरोहीहरू बुधवार र बिहीवार सर्वोच्च शिखर पुग्ने लक्ष्यसहित आधारशिविरबाट उकालो लागेका थिए।

तर समुद्री आँधीका कारण मौसममा परिवर्तन हुने भएपछि उनीहरूले अर्को अनुकूल समयको प्रतीक्षा गर्नुपर्ने भएको छ। “अब मौसम सुधार नहुँदासम्म उनीहरू क्याम्प वन र क्याम्प टूमै बस्नेछन्,” आधारशिविरमा रहेका नेपाल सरकारका एकजना सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बीबीसीलाई भने।

पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले मङ्गलवार औपचारिक रूपमा आरोहण दलहरूलाई 'सतर्क रहन र सम्भव भएसम्म उकालो नलाग्न र माथि रहेकालाई समेत सुरक्षित स्थलमा झार्न' आग्रह गर्न लागिएको बताएकी छन्।

'यसअघि पनि आरोहण याम चलिरहँदा तुफानहरू आएका छन्। हामीले परिस्थिति र मौसमको निरन्तर जानकारी लिएर रणनीति बनाइएका छौँ,' उनले भनिन्। 'पर्वतारोहीको सुरक्षा जे गर्दा सुनिश्चित हुन्छ हामी त्यसमै लाग्छौँ।'

सुरक्षाका लागि के गरिएको छ ?
एघार दिनअघि सगरमाथाको चुचुरोमा डोरी टाँग्दै यस यामको पहिलो आरोहण भएको थियो। त्यसपछि अहिलेसम्म झन्डै १५० जनाजतिले सगरमाथा आरोहण गरिसकेको नेपाली अधिकारीहरूको अनुमान छ।

आरोहीहरूसँग उनीहरूको आरोहण पुष्टि गर्नेगरी अन्तर्वार्ता लिएर प्रमाणपत्र जारी भएपछि मात्र सङ्ख्या स्पष्ट हुने विभागका अधिकारीहरू बताउँछन्। तर यो वर्षको वसन्त याममा अहिलेसम्मकै सर्वाधिक ४०८ वटा आरोहण अनुमति जारी गरिएको थियो।

आधारशिविरमा भएका आरोही तथा आरोहण सञ्चालक मिङ्मा डेभिड शेर्पा भन्छन्, “हामीले यही मौसमी विकासक्रमलाई हेरेरै मे २५ तिरलाई हाम्रो दलको चुचुरो पुग्ने योजना गराएका छौँ।” माथि लागिसकेका आरोहीहरू यतिखेर 'क्याम्प वन र क्याम्प टू' मै सुरक्षित रहने विश्लेषण गरेको बताइएको छ।

मिङ्मा डेभिड शेर्पा भन्छन्, “त्यहाँबाट आधारशिविर नै झर्न पनि तन्दुरुस्त अवस्थामा रहेका आरोहीका लागि तीनदेखि पाँच घण्टाको समय हो। र, यस्तोमा जोखिम लिनुभन्दा तल झरेर बस्दा राम्रो पनि हुन्छ। यो आउजाउ माथिल्लो उचाइसँगको एउटा अर्को अभ्यास हुन्छ। मलाई त झर्नु नै राम्रो लाग्छ।”

तर धेरै आरोहीहरू निकै अस्थिर बरफ र हिउँका चट्टानहरू हुने खुम्बु आइसफलमा धेरै आउजाउ गर्न चाहँदैनन्। झन्डै ६,४०० मिटर उचाइबाट १,००० मिटरजति ओर्लेर पुनस् चुचुरोका लागि आफूलाई लैजाने कामलाई शरीरमा हुने ऊर्जाका दृष्टिले समेत कतिपय आरोहीका लागि चुनौतीपूर्ण मानिन्छ।

यसअघि मे २१ र २२ मा आरोहणका लागि अनुकूल मौसम देखिएका थियो। तर अहिलेको मौसमी परिवर्तनका कारण आधारशिविरमै रहेका आरोहीहरूले आफ्नो योजना परिमार्जन गर्न थालेको बताइएको छ।

सगरमाथा आरोहण गरिसकेका ज्ञानेन्द्र श्रेष्ठ थप्छन्, “क्याम्प टूको उचाइ मात्र केही बढी हो। नत्र त्यसको अवस्थितिको हिसाबले आधारशिविरभन्दा धेरै फरक हुँदैन। त्योभन्दा माथि मौसमी फेरबदल भए त्यो आरोहीको काबुमा नहुन पनि सक्छ।”

‘पर्वतारोहण नगर्नू तथा नगराउनू’
जल तथा मौसम विज्ञान विभागले टाउटे तुफानको प्रभाव शुक्रवारसम्म देखिने आफ्नो विशेष बुलेटिनमार्फत् जनाएको छ। “सो अवधिमा उच्च हिमाली भूभागमा उच्च वेगको हावाहुरीको समेत सम्भावना रहेकोले पर्वतारोहण नगर्न तथा नगराउन हुन अनुरोध छ,” विभागले भनेको छ।

बीबीसीसँग कुरा गरेकी विभागकी वरिष्ठ मौसमविद् प्रतिभा तुलाधर भन्छिन्, “त्यसै पनि प्री-मनसुनको समय रहेको यो बेला तुफान मिसिँदा हिमपात र हिम पहिरोको जोखिम भएकाले हामीले त्यस्तो सूचना जारी गरेका हौँ।” तर यसको जोखिम नेपालमा तुलनात्मक रूपमा सगरमाथा रहेको प्रदेश नं १ मा पश्चिमी भेगको तुलनामा कम पर्ने बताइएको छ।

मौसमविद्हरूले अहिलेको समुद्री आँधीका कारण धवलागिरि हिमालमा भने दुई फिटसम्म हिउँ पर्ने र सगरमाथा तथा मकालु क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरेका छन्। (प्रदीप बस्याल, बीबीसी नेपाली)