२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनदेखि पुससम्म रगत संकलनमा किन कमी आउँछ ?



अ+ अ-

काठमाडौँ । देशभर वर्षायाम शुरु भएसँगै रगत संकलन कम हुन थालेको छ ।

रगत संकलन र आपुर्ति गर्दै आएको संस्था केन्द्रिय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिर महिनासम्म मानिसहरु खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो ।

वर्षातको समय शुरु भएदेखि मंसिर/पुससम्म दैनिक करिव आठ सय युनिटमात्रै रगत संकलन हुने केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताउनु भयो । उहाँले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत संकलन हुने गरेको बताउनु भयो । केन्द्रिय रक्त सञ्चार सेवातर्फ २०७९/८० मा ३३ हजार चार सय ८५ युनिट रगत संकलन भएको थियो । उहाँले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताउनु भयो ।

पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरुको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताउनु भयो । देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेको बताउनु भयो । निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताउनु भयो । कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने बताउनु भयो । नेपालका रक्तदाताहरुको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउनसके चाहिएको बेला रगत दिन सकिने बताउनु भयो । १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔं भन्ने अभियानलाई पनि अघि बढाएको बताउनु भयो ।

निर्देशक पौडेलले भन्नुभयो, ‘ रगतको माग र आपूर्ति सिजन अनुसार हुनेगर्छ । वर्षाको मौसम शुरु भयो भने धेरै मानिसहरु खेतिपातीमा लाग्ने भएकाले रगत संकलन कम हुन्छ । चाड पर्वको समयमा पनि रगत संकलन न्युन हुनेगर्छ । मंसिर/पुसदेखि साउनसम्म धेरै राम्रो रगत संकलन भइरहेको हुन्छ । मंसिरदेखि पुुसमा अस्पतालहरुबाट पनि माग धेरै आइरहेको हुन्छ । विशेष अवस्था जस्तैः कोभिड, डेंगुको अवस्थामा विशेष किसिमको प्रोडक्ट आवश्यक परेको हुन्छ । त्यस्तो बेलामा हामीले रक्तदानका लागि विशेष आह्वान पनि गरिरहेका हुन्छौं । गत वर्षहरुको तथ्याङ्क हेर्ने हो भने नेपालमा दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्छ ।’

‘त्यो भनेको वर्षको चार लाख ५० हजार युनिट रगत आवश्यकता पर्ने हो । नेपाल रेडक्रस सोसाइटीले मागको ९० प्रतिशत बढि रगत आपूर्ती गरिरहेको छ । केन्द्रिय रक्त सञ्चार सेवासँगै प्रादेशीकस्तरमा पाँच वटा रक्त सञ्चार सेवा छन् । नेपालगञ्ज, धनगढी, पोखरा, विराटनगर र चितवनमा सेवा उपलब्ध गराउँदै आएको छ । जिल्लास्तरमा २४ वटा रक्त सञ्चार सेवा छन् । समग्रमा एक सय वटा संकलन केन्द्र रक्त सञ्चार सेवाले व्यवस्थापन गरिरहेको छ । रगतको कति माग हुन्छ भन्न सकिँदैन ।’

‘गएका वर्षहरुको ट्रेण्ड हेरेर विचार गर्ने हो । नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिकले नियमित रक्तदान गर्नुहुन्छ । अब त्यो नियमितता बढाउन जरुरी छ । जस्तो की वर्षको चार पटकसम्म रक्तदान गर्न मिल्छ । कतिपयले एक पटक वा दुई पटक रक्तदान गरिरहनुभएको छ । त्यसैले रक्तदान गर्नेहरुको संख्या बढाउनु पर्छ । रक्तदान गर्नेहरुको संख्या बढाउन सकियो भने फाइदा हुन्छ । एउटा रगतको आपूर्ति हुन्छ । अर्को नियमित रक्तदान गर्ने सबैभन्दा सुरक्षित रक्तदाता हो ।’

निर्देशक पाठ्यक्रममै रक्तदानलाई प्रवद्र्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताउनु भयो । पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरुलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने बताउनु भयो । उहाँले रक्तदाताका लागि रक्तदाता हुँ भनेर गव गर्न लायक प्याकेज ल्याउनुपर्ने बताउनु भयो । पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत संकलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ ।