• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सनी देवल र अक्षय कुमारबीच भिडन्त हुने



एजेन्सी । दुई ठूला र बहुप्रतिक्षित चलचित्रहरू ‘गदर २’ र ‘ओ माई गड २’ अर्थात् ओएमजी २ बीच भिडन्त हुने भएको छ ।

अगस्ट ११ मा दुई ठूला फिल्महरु सँगै लाग्ने भएका हुन् । एकै दिन रिलिज भएपनि विधा फरक भएकाले दुबै चलचित्रले दर्शकको मन जित्न सक्ने अपेक्षा गरिएको छ ।

बलिउड हंगामासँग कुराकानीमा फिल्म समीक्षक र ट्रेड विश्लेषक तरण आदर्शले सनी देवलको गदर २ र अक्षय कुमारको ओएमजी २ बीचको बक्स अफिस टकरावको बारेमा कुरा गरेका छन् ।

आदर्शले भने, ‘अहिले एकै दिन दुई फिल्म रिलिज हुनु ठीक छ तर ३ फिल्म एकसाथ रिलिज हुनु ठीक होइन । यो लामो विकेन्ड हो त्यसैले दुबैले कमाउने मौका पाउनेछन् । योसँगै दुवै फिल्म एकअर्काभन्दा बिल्कुलै फरक छन् । त्यसैले दुवै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । चाखलाग्दो कुरा के छ भने, दुवै फिल्म उनीहरूको हिट फ्रेन्चाइजको दोस्रो भाग हो ।’

गदर २ को बारेमा कुरा गर्दा, जी स्टुडियो र अनिल शर्माको गदर २ सन् २००१ मा आएको फिल्म गदर–एक प्रेम कथाको सिक्वेल हो । यसमा सनी देवल र अमिषा पटेलले तारा सिंह र सकिनाको भूमिकालाई पुनः प्रस्तुत गर्दैछन् । यो चलचित्रको सिक्वेलको प्रतिक्षामा सबै जना आतुर थिए र अब २२ वर्षपछि गदर २ आउँदै गर्दा सिनेमा हलहरुमा भीड लाग्ने पक्का छ ।

२०१२ को हिट फिल्म ओ माई गड को सफलताको ११ वर्ष पछि आउन लागेको यसको सिक्वेल यो वर्षको सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक हो । पहिलो फिल्ममा अक्षय भगवान कृष्णको भूमिकामा देखिएका थिए भने ओ माई गड २ मा उनी भगवान शिवको भूमिकामा आफ्ना भक्तको समस्या समाधान गर्ने देखिनेछन् ।