• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ: गभर्नर



फाईल फोटो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा उहाँले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको उहाँको भनाइ थियो । कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको गभर्नर अधिकारीले बताउनुभयो ।

बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको र अहिले प्रणालीमा सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता रहेको जानकारी दिनुभयो ।

तरलता राम्रो भएकाले करिब ६० अर्ब राष्ट्र बैंकले खिचेको उहाँले बताउनुभयो । साथै उहाँले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले भुक्तानी सन्तुलन र विदेशी विनिमय गत वर्ष भएको घाटा पूर्ति गरी सहज अवस्थामा आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको छ । बजारमा शिथिलता रहेको र यसको प्रभाव रिकभरीमा परेको उनले बताए ।