• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’

राना समुदायमा ‘सावनको डोला’को रौनक



दोधारा चाँदनी । कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारू समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ ।

यस वर्ष मलामासका कारण भदौ २ गते तीज मनाउने निर्णय गरे पनि त्यसअघी परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् ।

भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गते नै राना गाउँमा सावनको डोला ९पिङ० हालेको बताउनुभयो । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व यस वर्ष मलामासका कारण भदौ २ गते मनाउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।” उहाँले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिनुभयो ।

राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरुको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको राजमती रानाले बताउनुभयो । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिना अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

“हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ,” राजमतीले भन्नुभयो, “सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् ।

“राना समुदायका पर्वहरु पुस्तान्तरण हुन सकेका छैनन्”, समुदायका जानकार सेटसिंह रानाले भन्नुभयो, “बदलिँदो समयसँगै हाम्रा पर्वहरु पनि लोप हुन थालेका छन् ।” उहाँले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताउनुभयो । “अहिलेका युवालाई यसप्रति चासो छैन धेरै रोजगारीका लागि बाहिर छन्”, उहाँले भन्नुभयो, “हाम्रा परम्पराहरु अन्य समुदायको भन्दा पृथक छन् यसको पुस्तान्तरण हुनु जरुरी छ ।” रासस