• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

केदारनाथ मन्दिरमा मोबाइल लैजान नपाइने



एजेन्सी । भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ मन्दिरमा मोबाइल फोन निषेध गरिएको छ । भक्तजनले अब मन्दिर परिसरमा फोटो खिच्न वा भिडियो बनाउन पाउने छैनन् । बद्री–केदारनाथ मन्दिर समितिले यो निर्णय गरेको हो ।

केही दिन अघि एक महिला ब्लगरले आफ्नो प्रेमीलाई मन्दिरको अगाडि प्रपोज गरेकी थिइन् । भिडियो भाइरल भएपछि मन्दिर प्रशासनले असन्तुष्टि व्यक्त गरेको थियो । यस सम्बन्धमा मन्दिर समितिले यस्तो निर्णय गरेको हो ।

भक्तजनलाई पनि विनम्र पोशाक लगाएर मन्दिरमा आउन आग्रह गरिएको छ । यसका साथै मन्दिर परिसरमा पाल वा शिविर नराख्न पनि निर्देशन दिइएको छ । आदेश पालना नगर्नेलाई कानुनी कारबाही गरिने जनाइएको छ ।

मन्दिर परिसरमा विभिन्न स्थानमा बोर्ड राखिएको छ, जसमा मोबाइल फोन लिएर मन्दिर परिसरमा प्रवेश नगर्नू लेखिएको छ । यस्तै, ‘यहाँ फोटोग्राफी र भिडियोग्राफी पूर्ण रूपमा प्रतिबन्धित छ । तपाई सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ ।’ पनि लेखिएको छ ।

पछिल्लो समय मन्दिरको गर्भगृहमा जानुअघि नै भक्तजनको मोबाइल फोन बन्द गर्न आदेश जारी भएपनि अहिले मन्दिर परिसरमा नै मोबाइल निषेध गरिएको छ ।

यस धाममा नेपालबाट पनि थुप्रै भक्तजनहरु दर्शन गर्न जाने गर्दछन् ।