१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यून वर्षाको असर, असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ



ललितपुरको खोकनामा धान रोपाइँ । ( फाइल तस्वीर)
अ+ अ-

गोरखाः असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताउनुभयो ।

आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन भित्रिए पनि पर्याप्त पानी नपरेका कारण रोपाइँ गर्न ढिलाइ भएको उहाँको भनाइ छ । “यस पटक मनसुन ढिलो गरी सुरु भएको छ, मनसुन सुरु भए पनि वर्षा कम हुँदा मूल फुट्न सकेको छैन”, उहाँले भन्नुभयो, “पानी नपरेपछि जिल्लाभित्रका टारी खेतमा रोपाइँ हुन सकेको छैन ।”

एघार हजार दुई सय ६६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको भए पनि असारको अन्तिम सातासम्ममा यसपालि करिब छ हजार क्षेत्रफल जमिनमा मात्र रोपाइँ सकिएको प्रमुख अधिकारी बताउनुभयो । अहिलेसम्म दरौदी फाँटहरूमा रोपाइँ धेरै भएको उहाँले बताउनुभयो ।

“कुलो तथा सिँचाइको सुविधा भएका फाँट तथा खेतहरूमा भने रोपाइँ लगभग सकिएको छ”, प्रमुख अधिकारीले भन्नुभयो, “त्यस बाहेकका क्षेत्रका किसानहरू रोपाइँका लागि आकाशेपानी कुर्नुपर्ने बाध्यता छ ।”

पानी नपरेपछि रोपाइँ गर्न ढिलाइ भएको ज्यादुर फाँटका किसान वसन्त न्यौपाने बताउनुहुन्छ । “आकाशे पानीको आवश्यकता नपर्ने ठाउँमा रोपाइँ गरेर भ्याइसकिएको छ”, उहाँले भन्नुभयो, “आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेकाले यसपालि ज्यादुर फाँटमा अहिलेसम्म रोपाइँ गर्न सकिएको छैन, गत वर्ष यति नै बेला फाँटमा रोपाइँ सकिएको हुन्थ्यो ।” पानी नपरेपछि रोपाइँ कहिले गर्ने भन्ने टुङ्गो नभएको न्यौपानेको भनाइ छ ।

भुसुण्डे फाँटका अर्का किसान बलबहादुर कुमाल पनि खेतमा रोपाइँ गर्न नपाएर चिन्तामा हुनुहुन्छ । “वर्षभरि सिङ्गो परिवारले पेट पाल्ने यही खेतको उब्जनीबाट हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म पानी नपर्दा रोपाइँ गर्न पाइने हो कि नपाइने हो भनेर पिर पर्न थालेको छ ।”

गोरखा जिल्लाभित्र छेपेटार, भुसुण्डे फाँट, ज्यादुर खोला, आरुघाट, ध्यालचोक, सिरानचोक र ध्याम्पेसाललगायतका स्थान धान खेती हुने क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र गोरखाका कृषि अधिकृत प्रमोद गैरेले जानकारी दिनुभयो । रासस