• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने ★   पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला ★   नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ ★   कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा ★   रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय ★   लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ★   वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे ★   नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

कर्णालीका घरघरमा प्रहरीको स्टिकर



सुर्खेत । कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गर्नुभएको छ । अभियानको सुरुआत गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले सो कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत पुग्ने बताउनुभयो । आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले उक्त अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री खड्काले उक्त अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले प्रहरीको सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताउनुभयो । प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताको प्रहरीसँग पहुँच बढाउन तथा सुरक्षित प्रदेश बनाउनका लागि घरघरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस्ने अभियान थालिएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका तीन लाख ७१ हजारभन्दा बढी घरमा स्टिकर टाँसिने छ । डिआईजी ढकालले तीन महिनासम्म स्टिकर टाँसिने र यसका लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । स्टिकर टाँस्दा पारिवारिक तथ्याङ्क पनि लिइनेछ । कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ । जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई जनतासँग जोड्नका लागि यो अभियानले सहयोग पुग्ने बताउनुभयो । उहाँले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातोमालो गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकाले सार्थक बनाउन सहयोगको आग्रह गर्नुभएको छ । स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स र बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ । रासस