• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

सोमबारदेखि बढी पानी पर्ने सम्भावना



काठमाडौँ । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन ।

“मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामासोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । उहाँको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ ।

सङ्घीय राजधानी काठमाडौँमा आज राति हल्का वर्षाको सम्भावना छ भने भोलि दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ । यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ ।