• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मेक्सिकोदेखि नेपाल घुम्न आएको परिवार सोलुखुम्बुमा अस्तायो



काठमाडौँ । सोलुखुम्बुमा भएको मनाङ एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाले ज्यान गुमाएका छन् ।

सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा हेलिकप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जनाको शव भेटिएको छ ।

दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इस्माइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरूमध्ये दुई जना आमा–बुवा र तीन जना छोराछोरी हुन् ।

अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएका थिए । उनीहरू हिजै लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किने योजनामा थिए । तर, मौसमले साथ नदिएर आज मात्रै काठमाडौं आउन लागेका थिए । उनीहरुको बुधबार दिल्ली फर्किने योजना थियो ।

सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको उक्त हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।