६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ
अ+ अ-

ढोरपाटन । बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए । सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन । मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए ।

अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ । गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ । खर र ढुङ्गाका छाना भएका घर कम हुँदै गएका छन् । पछिल्लो समय गाउँमा घर जस्तातापाले छाइन र सिमेन्टले ढलान हुन थाले । त्यसले गर्दा गाउँको पहिचान हराउन थाल्यो । अहिले धमाधम सिमेन्ट र रडले घर निर्माण भइरहेका छन् । माटो र कमेरोको सट्टा सिमेन्ट र केमिकलका रङ लगाउने प्रचलन बढ्दै गयो । यस गाउँका वरपर थुप्रै पाटी पौवा, पोखरी र सितलताका लागि चौतारा थिए ।

सडकका कारण पोखरी र चौतारालगायतका सम्पदा मासिँदा अहिले उजाड जस्तो बनेको छ । सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर नयाँ घर भवन बनिरहेका छन् । गाउँमा सहर बजारका जस्ता घर बन्दै गएपछि मौलिकता गुम्ने खतरा बढेको स्थानीय जङ्गबहादुर कार्कीले बताउनुभयो ।

साढे दुईदशक अगाडि लोकमार्गले खहरे गाउँ जोडिएपछि लामो समय गाउँगाउँकैरुपमा रहे पनि अहिले तीव्ररुपमा बजारीकरण हुन थालेको कार्कीको भनाइ छ । अहिले गाउँबाट विदेश जानेको सङ्ख्या बढेको र विदेशमा कमाएर ल्याएपछि गाउँमा पुराना घर भत्काएर सिमेन्टका पक्की घर बनाउन थालेको कार्की बताउनुहुन्छ । सहजताका लागि आफूले पक्की घर बनाए पनि घरको फाइदाभन्दा बेफाइदा धेरै रहेको कार्कीलाई आजभोली महसुस हुन थालेको छ ।

“हाम्रो पालामा गाउँमा यस्ता घर थिएनन्, तलदेखि माथिसम्म सबै ढुङ्गा माटोका घर थिए, बस्ती पनि अहिलेको जस्तो बाक्लो थिएन तर अहिले दिनदिनै नयाँ घरहरु बन्दै गए, बस्ती थपिँदै गए, गाउँ त अहिले बजार जस्तै भएको छ”, कार्कीले भन्नुभयो, “विकास हुन त राम्रो हो, तर मौलिकता मासेर आधुनिकतालाई अङ्गाल्नु विल्कुलै राम्रो होइन, पहिले गाउँ घरमै खेतबारीमा काम गर्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने, परम्परागत घरमै बस्ने गरिन्थ्यो, अहिले सबै विदेश जान थाले, विदेशमा कमाएको पैसाले आफू जन्मे हुर्केको घर भत्काएर विदेशीको नक्कल गरेर घर बनाउन थाले ।”

पछिल्लो समय यहाँबाट चितवन, पोखरा, काठमाडौँलगायतका सुविधायुक्त सहरमा बसाइँसराइ गरेर जान थालेका छन् । गाउँ भएर पनि बजारकै सेवासुविधा पाएका स्थानीयले घर उस्तै बनाउँदै गएको स्थानीय ६५ वर्षीया चन्द्रकला क्षेत्रीले बताउनुभयो । देख्न राम्रो भए पनि गाउँमा बनेका सिमेन्टका पक्की घर स्वास्थ्यका लागि अनुकूल नभएको क्षेत्री बताउनुहुन्छ । आफ्ना छोराले विदेशमा कमाएर गाउँमा पक्की घर बनाएको जनाउँदै क्षेत्रीले पक्की घरका कारण रोगी बन्नुपरेको बताउनुभयो ।

क्षेत्री भन्नुहुन्छ, “घरमा आमा बाबालाई लिपपोत गर्न दु:ख भयो भनेर छोराले पक्की घर बनाइदिए, ढुङ्गा माटोको घर हुँदा दाउरामा आगो बालिन्थ्यो, आगोमै पकाएर खाइन्थ्यो, त्यसैले शरीर स्वस्थ हुन्थ्यो, अहिले त दाउरा बाल्नै छोडियो, आगो ताप्ने ठाउँमा हिटर ताप्छन्, यसले स्वास्थ्यलाई राम्रो गरेन, चिसो लाग्ने, शरीर दुख्ने, समस्या बढ्यो, अहिले र घरघरमा एउटा होइन, दुई/दुई वटा ग्यास चुला छन्, बरु पहिलेकै माटो ढुङ्गाको घर ठिक थियो ।”

सडकले बजारसँग जोडेर गाउँलेलाई सुविधा त बनायो, तर सुविधासँगै गाउँको सुन्दरता र मौलिक संस्कृति भने हराउने गरायो । अहिले खहरे गाउँसँगै बागलुङका अधिकांश सडक छेउमा पर्ने गाउँ बजारमा रुपान्तरण हुँदैछन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पश्चिम पातीहाल्नेसम्म दर्जन गाउँ तीव्ररुपमा बजारीकरण भइरहेका छन् । रासस