
काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्ष दक्षिण कोरियामा बिताएर नेपाल फर्किएका स्याङ्जाका छविलाल भण्डारी (दामु दाइ)ले दुईवटा नभई चार ओटा फोन ल्याएको पाइएको छ ।
विमानस्थलमा दुई ओटा मोबाइल सेटका लागि ४४ हजार रुपैयाँ तिर्नुपरेको भन्दै आक्रोशसहित सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल बनेका उनी स्वयंले यो कुरा स्वीकार गरेका हुन् ।
एयरपोर्टबाट उनले आफ्नो लगेजमा भएको २५ प्रतिशत सामान समेत हराएको आरोप लगाएका थिए । “पटक पटक एयरपोर्ट गएर सीसीटिभी हेरिदिन आग्रह गर्दा राम्रो कुरा समेत नगरेको कुराले म जस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीलाई अत्यन्तै दुःखी बनाएको छ,” उनले फेसबुकमा लेखेका थिए ।
भन्सार कार्यालयकाअनुसार उनले ४ वटा फोन बोकेका थिए । उनले सहुलियतमा एउटा सामसङको नयाँ सिल नतोडिएको र अर्को एक पुरानो मोडलको आइफोन ल्याएको पाइएको छ । जसमध्ये सरकारले दिएका सुविधामा २ वटा फोन भन्सार छुट सुविधामा भण्डारीले पाएको र २ वटा फोनमा कानुन बमोजिम भन्सार लागेको कार्यालयले स्पष्ट पारेको छ ।
उनले फेसबुकमा पोस्ट गरेको फोटोमा एउटा प्रयोग भएको फोन (आईफोन १२) र अर्को नयाँ फोन (आईफोन १४) को रशिद रहेको थियो । जसका लागि भण्डारीले कूल ४४ हजार ७३४ रुपैयाँ भुक्तानी गरेको देखिन्थ्यो ।
उनले आइतबार अर्को एक पोस्ट राख्दै हराएको भनिएको सामान जापानबाट नेपाल फर्किएका व्यक्तिकोमा पुगेको उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद्को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याएमा कुनै पनि महसुल लाग्दैन ।