६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

१० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन

१० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन
अ+ अ-

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो । तर सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्ड कालोपत्रको काम निर्माण कम्पनीको लापरवाहीले समयमा सम्पन्न नहुँदा विगतदेखि जिल्लावासीले भोग्दै आएका समस्या ज्यूँका त्यूँ छ ।

पुल निर्माणमा निर्माण कम्पनीको लापरवाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो । फोक्सिङटार पुल निर्माणका लागि सडकबाट सदनसम्म चौतर्फी दबाब दिँदा–दिँदा १० वर्षपछि पुल त बन्यो तर सडक कालोपत्र नहुँदा उक्त मोटरेबल पक्की पुल उपयोगविहीनजस्तै भएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल एक सय २० मिटर लामो छ । दश वर्षपछि निर्माण सम्पन्न गरिएको फोक्सिङटार पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको हो ।

पुल निर्माणको काम सम्पन्न भएर सञ्चालनमा आए पनि फोक्सिङटारवारि र पारिको सडक कालोपत्र नहुँदा यातायात सञ्चालनमा समस्या भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । “दश वर्षपछि पुल सञ्चालनमा आयो । तर सडक कालोपत्र नहुँदा यातायात सञ्चालन हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “कच्ची अवस्थामै भए पनि सञ्चालनमा ल्याउन सकिने अवस्था त छ । तर सम्बन्धित निकायले ध्यान नदिँदा यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन ।”

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडकखण्ड कालोपत्रको काममा निर्माण कम्पनीको चरम लापरवाहीका कारण अलपत्र परेको हो ।

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेबाट राजापानीको सिम्पानी ९२२ किलोमिटर० सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार ९२७ किलोमिटर० सडकखण्डको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले जिम्मा लिएको थियो । काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ ।

भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार ३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग योजनाको सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत उक्त सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् ।

रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति देखिएको जनाइएको छ । देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागको अनुमान छ ।

रु ५५ करोड ८७ लाखमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा विसं २०७३ साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक गत चैतदेखि निर्माणको काम ठप्प छ ।

सुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नै नगरी हिँडेको स्थानीयवासी एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “पछिल्लो समय थपिएको समयावधि गत चैत मसान्तमा सकियो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीको लापरवाहीले सडक कालोपत्रको काम बीचैमा छाडेर अलपत्र पारेपछि अहिले यातायातका कुनै पनि सवारीसाधन सञ्चालन हुने अवस्था छैन ।”

सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउँन बाँकी रहेको वडाध्यक्ष राईले बताउनुभयो ।

कालोपत्रको काम अलपत्र पार्ने निर्माण कम्पनीको धरौटी रकमबाट अवरुद्ध सडक मर्मतको काम गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । “महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा ठेहेदार कम्पनीको चरम लापरवाही भएको छ । महुरे–राजापानी सडकखण्डका निर्माण त कामै छाडेर भाग्यो”, उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थाका सडक अलपत्र छाडेर निर्माण भागेपछि उसको धरौटी रकम खर्च गरेर अवरुद्ध सडक मर्मत गरेका छौँ । यद्यपि वर्षात्को समय भएकाले नियमित यातायात सञ्चालन हुनसकेको छैन ।”

निर्माण कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्योलता सिर्जना भएको छ । थपिएको सम्झौता मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग गरिएका औजार लिएर निर्माण कम्पनी निर्माणस्थलबाट हिँडिसकेका छन् । रासस