• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो

पढेर विदेश जानुभन्दा यहीँ अवसर छः अध्यक्ष ओली



चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताउनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उहाँले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताउनुभयो ।

विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उहाँले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन ।” यहाँ जति अवसर विदेशमा नमिल्ने उहाँको भनाइ थियो । पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै भन्ने भन्दै उहाँले पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताउनुभयो ।

नेपालको कृषिलाई आधुनिक तरीकाले गर्न सकिने भन्दै उहाँले देशलाई आवश्यक पर्ने खाद्यान्न आफँैले उत्पादन गर्नुपर्ने बताउनुभयो । यहाँ उत्पादित वस्तु बिक्री नभएर सडकमा छरिने क्रम रोक्न प्रविधिको प्रयोगबाट उत्पादित वस्तुको सुरक्षित भण्डारण गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

हरेक काममा सक्रियता भए मात्रै सफल हुने भन्दै उहाँले भन्नुभयो, “सक्रियता छ जीवन छ । सक्रियता छैन जीवन छैन ।” कुन काम कसरी गर्ने र कसले गर्ने भन्ने विषय अध्ययन गरेर गर्न सके नेपालमानै स्थापित हुन सकिने उहाँको भनाइ थियो । वैदेशिक रोजगारमा गएर फर्कंदै गर्दासमेत यहाँ स्थापित हुन समय लाग्ने भन्दै यहाँ अहिलेदेखि काम गर्न सके राम्रो हुने उहाँले बताउनुभयो । कृषि व्यवसाय र कृषि उद्योगबाट सफल बन्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै युवा उद्यमी ससन देवकोटाले नेपालबाट ५० प्रतिशत दक्ष कामदार विदेश पलायन भएको बताउनुभयो । अध्ययन सकेर बसेका विद्यार्थी विदेश जाने तयारीमा रहेको भन्दै उहाँले कृषि क्षेत्रमा उद्यम गर्ने कार्यमा पाँच प्रतिशत मात्रै रहेको बताउनुभयो ।

पैँतालिस प्रतिशत युवा रोजगारमा रहेको सो अवसरमा जानकारी दिइएको थियो । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार नेपालको २० प्रतिशत जमिन खेतीयोग्य रहेको छ । सोमध्ये २५ प्रतिशत बाँझो रहेको छ भने ७५ प्रतिशतमा मात्रै खेती गरिएको छ । कृषि विषयमा अध्ययन गरेका सबै विद्यार्थी रोजगारीका लागि विदेशिने तयारीमा रहेको भन्दै देवकोटाले चिन्ता व्यक्त गर्नुभयो । रासस