२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीको बेलामा पनि महिलाहरू बढी जोखिमपूर्ण अवस्थामा: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले संविधान र कानुनद्वारा प्रदत्त महिलाका अधिकारहरू पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने काममा कठिनाई भएको बताउनु भएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को अबसरमा शुभकामना सन्देश जारी गर्दे राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानता नीतिको प्रभावकारी कार्यान्वयनबाट समग्र लैङ्गिक उत्तरदायी शासन व्यवस्थाको विकास मार्फत् महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य भई लैङ्गिक समानतायुक्त न्यायपूर्ण समाज निर्माण हुने अपेक्षा  गर्नुभएको छ ।

उहाँले  विश्‍वव्यापी कोभिड–१९ महामारीको घातक दोस्रो लहरको सामना गरिरहेका उल्लेख गर्दे  अन्य विपत्तिको समयमा झैं यस महामारीको बेलामा पनि महिलाहरू बढी जोखिमपूर्ण अवस्थामा रहेका जनाउनु भएको छ ।  अग्रपङ्क्तिमा रही महामारीसँग लड्दा होस् वा संक्रमणको सामना गर्दा होस्, महिलाको सुरक्षाका लागि उनीहरूको विशेष भूमिकालाई सम्बद्ध पक्षले विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले जारी गर्नुभएको बिज्ञप्तिको पूर्ण पाठ

“महिलाको सुरक्षा र अधिकारस् संकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने नाराका साथ मनाउन लागिएको तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई  स्मरण गर्दै धन्यवाद दिन चाहन्छु ।

२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्‍चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमाम नाउन थालिएकोमा मलाई खुसी लागेको छ । लैङ्गिक समानता तथा महिला अधिकार सुनिश्चित गर्न लामो समयदेखि भएका धेरै संघर्षहरूलाई यस राष्ट्रिय दिवसले सम्मान र पहिचान प्रदान गरेको छ । यसै ‘विशेष प्रस्ताव’ लाई आधार मानेर महिलाको हक अधिकार सुनिश्‍चित गर्न संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरू गरिए र तिनको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि भएको छ ।

यसबाट महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै आएको छ । महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन, स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न, निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाको आर्थिक समृद्धि प्राप्त गर्न सरकारका नीति तथा कार्यक्रम अगाडि बढिरहेका छन् । यसबाट महिलाको क्षमता र पहुँचमावृद्धि भई उनीहरू थप क्षमतावान् र प्रतिस्पर्धी हुने कुरामा म विश्वस्त छु ।

लैङ्गिक विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानता नीतिको प्रभावकारी कार्यान्वयनबाट समग्र लैङ्गिक उत्तरदायी शासन व्यवस्थाको विकास मार्फत् महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य भई लैङ्गिक समानतायुक्त न्यायपूर्ण समाज निर्माण हुने अपेक्षा गरेको छु । यस बीचमा नेपाली महिला दिदीबहिनीहरूको शिक्षा, स्वास्थ्य, सम्पत्ति माथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको छ । महिला हिंसा अन्त्य गर्ने सम्बन्धमा सरकारबाट कानुनी तथा संरचनागत व्यवस्था भएका छन् ।

यद्यपि लामो समयदेखि हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक एवं पुरातन सोचका कारण महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि पारिएका छन् । यस्ता सोच र प्रवृत्तिहरू समाजबाट अझै हटिनसकेका कारण संविधान र कानुनद्वारा प्रदत्त महिलाका अधिकारहरू पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने काममा कठिनाई बाँकी रहेको छ । तसर्थ महिलाहरूको शैक्षिक एवं आर्थिक सशक्तीकरणका साथै समग्र समाजको सांस्कृतिक रूपान्तरणका लागि समेत हामी सबैले निरन्तर प्रयास जारी राख्नु पर्दछ भन्ने मलाई  लागेको छ ।

अहिले हामी विश्‍वव्यापी कोभिड–१९ महामारीको घातक दोस्रोलहरको सामना गरिरहेका छौं । अन्य विपत्तिको समयमा झैं यस महामारीको बेलामा पनि महिलाहरू बढी जोखिमपूर्ण अवस्थामा रहेका छन् । अग्रपङ्क्तिमा रही महामारीसँग लड्दा होस् वा संक्रमणको सामना गर्दा होस्, महिलाको सुरक्षाका लागि उनीहरूको विशेष भूमिकालाई सम्बद्ध पक्षले विशेष ध्यान दिनुपर्दछ । यस समय कोरोना सङ्क्रमण तीव्र बनेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।