सुदूरपश्चिम । धान रोपाइँको चटारो बढेका बेला कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका अमर शाहलाई घरको गोरु लम्पीस्किन रोगले मरेपछि रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।
घरमा पालिएको हलगोरु बिरामीले मरेपछि पाखोखेत खनजोत गर्न नसक्दा उहाँलाई चिन्ताले सताएको हो । “एक हल गोरुभैँसीको एक पाडो र एक बाख्रा लम्पीस्किनले मरेर क्षति व्यहोर्नु पर्यो ।” उहाँले भन्नुभयो सोही ठाउँका अर्का किसान तेजबहादुर बोहराको घरमा पालिएको लम्पीस्किन रोगले समातेपछि गाईले दूध दिनै छोड्यो । उहाँले भन्नुभयो, “गाईले दूध दिन छाड्यो, पशुका प्राविधिकले नियमित उपचारपछि १६ दिनपछि बिरामी गाई निको भए पनि दूध बढ्न सकेको छैन ।” गोरु मर्दा भौगोलिक विकटताले बाटो नहुने खेतसम्म हाते मिनिटिलर जस्ता कृषियन्त्र लैजान नसकेर कतिपय ठाउँका खेत बाँझै राख्नु परेको र गाई मर्दा घरमा दूधको सहज व्यवस्था गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।
डोटीको शिखर नगरपालिकाका गोविन्दराज जोशीले गाउँमा यो रोगको महामारी फैलिएपछि कृषि कार्यमा नराम्रो असर पुगेको बताउनुभयो । “पालेका हलगोरु रोगले मरेका छन्, पावरटिलर जस्ता कृषियन्त्रको पहुँच नपुग्ने ठाउँका खेत जोत्नमै किसानलाई सकस छ”उहाँले भन्नुभयो,“रोग लागेको बस्तुभाउको घाउबाट दुर्गन्ध फैलिँदा रोगी बस्तुभाउको नजिक जान पनि मुस्किल हुने गरेको छ ।”
बिरामी पशुको घाउबाट दुर्गन्ध फैलिँदा यस्ता पशुलाई घरदेखि छुट्टै राखेर उपचार व्यवस्थापन हुने गरेको जनाइएको छ । तराई क्षेत्रको तुलनामा पहाडी जिल्लाका बस्तुभाउमा यो रोगमहामारीका रुपमा देखिएको पशु चिकित्सकले बताएका छन् । भौगोलिक विकटताले पहाडका खेतबारीमा सहज रुपमा कृषियन्त्रको प्रयोग गर्न सकिँदैन । समथर जग्गा र सडक यातायातको सुविधा भएको ठाउँमा मात्र यी कृषियन्त्रको प्रयोग हुने गरेको छ । आर्थिक अवस्था कमजोर भएका धेरै किसानसँग खेत जोत्न गोरु हुन्छन् ।
रोग लाग्न नदिन र लागेका पशुको उपचारका लागि कतिपय ठाउँमा पशु कार्यालयबाट प्राविधिक टोली परिचालन गरिए पनि रोगनियन्त्रण हुन नसकिरहेको किसानको भनाइ छ । देशभरी फैलिएको यो रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रभावित बनेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले बताउनुभयो । अहिलेसम्म सुदूरपश्चिममा दुई लाख सात सय ९८ पशु सङ्क्रमित भएकोमा दश हजार नौ सय भन्दा बढी पशु मरिसकेको उहाँले जानकारी दिनुभयो ।
यो प्रदेशमा गाई र भैँसीको सङ्ख्या १५ लाख ८२ हजार रहेकोमा योमध्ये झण्डै १२ दशमलब सात प्रतिशत पशु सङक्रमित भइसकेको जनाइएको छ । प्रदेशभरी गाई ७९ हजार एकसय ८८, गोरु ७७ हजार चार सय ७१, बाच्छाबाच्छी ३९ हजार ८८,भैँसी राँगो पाडापाडी पाँच हजार ५१ सङ्क्रमित भएका छन् ।
यो रोगले पशुको विभिन्न भागमा साना ठूला गिर्खा देखिने, उच्च ज्वरो आउने, आँखामा कचेरा जम्मा हुने, सिगान बग्ने, खाना खान नसक्ने, मुखबाट धेरै फिँज निकाल्ने जस्ता लक्षण देखिने गर्छ । डा जोशीले भन्नुभयो,“रोग लागेपछि दूधालु गाईभैँसीले झण्डै ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने गर्छ, गोरु बिरामी पर्दा किसानले आर्थिक क्षति व्यहोर्नु परेको छ ।”
लामखुट्टे, झिँगा र किर्नाको राम्रो व्यवस्थापन गर्न सक्नुनै यो रोगको रोगथामको उपाय रहेको जनाइएको छ । रोग लागिसकेको पशुको ठोस् उपचारविधि नभएका कारण लक्षणकै आधारमा उपचार व्यवस्थापन गर्नुपर्ने हुन्छ । रोगले सुदूरपश्चिममा महामारीको रुप लिएकोले पालिका तहले आफ्नो बजेट कार्यक्रममा रोग नियन्त्रणका लागि बजेट विनियोजन गर्न अति आवश्यक रहेको डा जोशी बताउनुहुन्छ ।
क्षेत्रीय पशुसेवा तालिम केन्द्र धनगढीका प्रमुख डा हेमराज अवस्थीले यो रोगले गोरु मर्न थालेपछि धेरै किसान प्रभावित बनेको बताउनुभयो । “घरमा जोत्ने गोरु र दुहुनो गाईमर्दा पुगेको क्षतिले किसानमा रुवावासी छ,”उहाँले भन्नुभयो,“रोगविरुद्धको खोप आइसकेको छ, तर रोग फैलिएको बेला खोप पनि लगाउन नमिल्दा समस्या भइरहेको छ ।” रासस