२ माघ २०८१, बुधबार
,
Latest
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ एनएफपिजे नेपालबाट फोटोग्राफर चुङ्बाप्रति अन्तिम  श्रद्धाञ्जली अर्थतन्त्रलाई सबल बनाउन अध्यादेश: प्रधानमन्त्री काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ ६.८ म्याग्निच्युडको सिजाङ भूकम्पपछि ३ हजार ६ सय बढी पराकम्प कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि रविमाथि राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको विपक्षी दलको ठहर प्रिमियर लिगः लिभरपुल, चेल्सी र सिटी बराबरीमा रोकिए सरकारले चाँडै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग गर्ने तयारीमा विपक्षी दलहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गुरपालनमा रमाउँदै गल्याङका वडाध्यक्ष सिंजाली



अ+ अ-

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउनुहुन्छ । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्नुहुन्छ । अनी पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेकोे कुँडो खुवाउनुहुन्छ ।

सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सकाउनुहुन्छ । वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्काउनु उहाँको बाध्यता हो । समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उहाँ कार्यालयतिर हानिनुहुन्छ । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्नुहुन्छ ।

सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आउनुभएको छ । वार्षिक रू १४ लाख ४० हजार बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

“एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्”, सिंजालीले भन्नुभयो, “बङ्गुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।” उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उहाँले बताउनुभयो ।

“व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ”, सिंजालीले भन्नुभयोे, “यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।” गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उहाँको भनाइ छ ।

सिंजालीकी जीवनसङ्गिनी गङ्गारानाले श्रीमान्को जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताउनुभयो । “उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताउनुभयो । नगरपालिकाले कृषकलाई समयमा नि:शुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, नि:शुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उहाँको भनाइ छ । रासस