• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

सहयोगको पर्खाइमा बहिरा क्याम्पस



काठमाडौँ । साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका शिक्षालय नहुन सक्छ भने त्यहाँ आवागमनका लागि उचित वातावरण र परिवारको सहयोग उत्तिकै आवश्यक हुन्छ ।

कठिनाइलाई झेलेर अपाङ्गता भएका कतिपय विद्यार्थी आफ्नो शिक्षाको सपना पूरा गर्न तम्सिरहेका छन् । पाठ्यक्रम र परीक्षा प्रणाली अन्य विद्यार्थीका लागि जे छ, अपाङ्गता भएका विद्यार्थीका लागि पनि एउटै हुँदा अपाङ्गता भएका विद्यार्थी प्रतिस्पर्धामा पछाडि देखिन सक्छन् तर उनीहरुको मेहनत, इमान्दारिता र श्रमप्रतिको समर्पण अनुकरणीय पाइन्छ । उनीहरुको क्षमतालाई मूल्याङ्कन गर्दै उचित प्रोत्साहनसहितको शिक्षा दिएर काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित केन्द्रीय बहिरा क्याम्पसले नेपालभरका बहिरा छात्रछात्राहरुको भावनालाई जोड्दै आएको छ । नेपालको पछिल्लो जनगणनाको दुई दशमलव २५ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट २०७० साउन १६ गते नि:शुल्क सम्बन्धन प्राप्त मुनाफारहित सो सामुदायिक क्याम्पसले सोही वर्षदेखि बहिरामैत्री वातावरणमा अध्यापनको व्यवस्था मिलाई उनीहरुलाई विभिन्न क्षेत्रमा रोजगारीका लागि सक्षम शैक्षिक जनशक्तिका रुपमा उत्पादान गर्दै आएको छ । यसले २०६९ सालदेखि २०७२ सालसम्म बिएड तीन वर्षे र २०७३ सालदेखि चार वर्षे बिएड कार्यक्रम सञ्चालन गर्दै आएको छ । यहाँ जनसङ्ख्या शिक्षालाई मुख्य र नेपालीलाई सहायकको रुपमा पढाइन्छ । अन्य सङ्काय तथा विषयको आवश्यकता महसुस भए पनि आर्थिक व्यवस्थापनको कठिनाइका कारण सञ्चालन हुन सकेको छैन । क्याम्पसमा स्थापनादेखि हालसम्मको यात्रामा जम्मा तीन सय ५९ विद्यार्थी भर्ना भएकामा ४१ विद्यार्थी उत्तीर्ण भएका छन् भने हाल यहाँ आठ जना शिक्षक रहेका छन् ।

क्याम्पस सञ्चालक समितिमा यसअघि सीताराम मास्के र प्राडा प्रभाकुमारी हमालले नेतृत्व गरिसक्नुभएको छ भने नारायणभक्त श्रेष्ठ (रायन) अध्यक्ष रहनुभएको छ । समितिमा त्रिविका प्रतिनिधि, कामनपा–१ का वडाध्यक्ष, राष्ट्रिय बहिरा महासङ्घ, नेपालका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ ।

सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति (बहिरा) हरुका लागि यो नेपालकै एकमात्र क्याम्पस हो । पूर्णरुपमा नि:शुल्क शिक्षा प्रदान गर्ने यस क्याम्पसमा साङ्केतिक भाषा र बहिरा संस्कृति अनुरुप अध्यापन गरिन्छ । विद्यार्थीलाई दिउँसो रोजगारीमा संलग्न हुन सजिलोका लागि सन्ध्याकालीन कक्षाहरुको प्रबन्ध गरिएको क्याम्पसका प्रमुख ऋषिराम देवकोटाले बताउनुभयो ।

हाल केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालको भवन भाडा लिएर सञ्चालित यो क्याम्पसले आफ्नै जग्गा र भवनमा आवासीय सुविधासहितको प्राविधिक विषयहरुको समेत अध्यापन गराउँदै क्याम्पसलाई बहिरा विश्वविद्यालयका रुपमा विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा विकास गराउने लक्ष्य लिएको बताइएको छ । बहिराहरुको अनुकूलतामा हुने गरी पाठ्यक्रम निर्माण वा सुधार गरी सहजव शिक्षण सिकाइ वातावरण बनाउन शिक्षणका सिद्धान्त, विधि, मूल्याङ्कन र शिक्षण सामग्रीको खोज अनुसन्धान गर्ने पनि यसले सोच रहेको छ । क्याम्पस प्रमुख देवकोटाले नेपाली साङ्केतिक भाषाको विकास र आधुनिकीकरण गर्न अन्तर्राष्ट्रिय साङ्केतिक भाषासम्म पहुँच प्रदान गर्न परियोजना तयार गर्न सहकार्य गर्ने योजना रहेको बताउनुभयो ।

क्याम्पसको एक मात्र आयस्रोतका रुपमा विश्वविद्यालय अनुदान आयोगको वार्षिक सहयोग करिब रु १५ लाख रहेको छ । शिक्षक–कर्मचारीलाई न्यनतम् पारिश्रमिक दिँदा पनि खर्च त्यो भन्दा बढी हुने गरेकाले धान्न धौधौ परेको छ । यहाँका विद्यार्थीका लागि विश्वविद्यालयले रजिष्ट्रेशन तथा सबै प्रकारका परीक्षा शुल्क मिनाहा गरेकाले विद्यार्थी र अभिभावकलाई राहत भने मिलेको छ ।

क्याम्पस स्थापनाकालमा तदर्थ समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीबाट स्वेच्छिक चन्दा सहयोग लिइएको थियो भने तत्कालीन त्रिवेणी विकास बैँक र पछि जनता विकास बैँकबाट चार वर्षसम्म निरन्तर आर्थिक तथा भौतिक सहयोग उपलब्ध भएको थियो । सञ्चालक समितिका सदस्य मेघनाथ न्यौपानेद्वारा स्टेशनरी र शैक्षिक सामग्रीहरु उपलब्ध भएको थियो । विद्यार्थी आवागमनका लागि क्याम्पसलाई बस र व्यवस्थित पुस्तकालयको अभाव देखिएको छ ।

क्याम्पसले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सहयोगको अपेक्षा गरे पनि विश्वविद्यालय अनुदान आयोगमार्फत् अनुदान दिलाउने बाहेक अरु सहयोग प्राप्त नभएको प्रमुख देवकोटाको भनाइ छ । आयोगका अध्यक्ष प्राडा देवराज अधिकारी यस्ता क्याम्पसलाई नियमित सञ्चालनका लागि वार्षिक रु १५ लाख बराबर सहयोग निरन्तर जारी रहने तर अन्य पूर्वाधार विकासमा लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । आयोगले यहाँका विद्यार्थीहरुलाई वािर्षक रु १२ हजारका दरले छात्रवृत्ति पनि दिँदै आएको छ ।

प्रमुख देवकोटा भने आफूहरुले सहयोगका लागि धेरै निकाय र संस्थाहरुलाई माग्ने नगरेको जनाउँदै भन्नुहुन्छ, “हामी नेपाल सरकारलाई नै आफ्नो अभिभावक बनाउन चाहान्छौँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई गुहार्न गएका छैनौँ ।”

क्याम्पसका शिक्षक सीता घिमिरे साङ्केतिक भाषामा पाँच हजारभन्दा बढी शब्द नभएकाले पढाउँदा सञ्चार गर्न तालिम लिएका शिक्षकलाई पनि सहज नहुने बताउनुहुन्छ । क्याम्पसमा बिएड पहिलो वर्षमा अध्ययनरत पुनम खड्काले परीक्षामा अन्य विद्यार्थीका लागि सरह प्रश्नहरु आउने हुँदा आफूहरुले सबै प्रश्नको हल गर्न जानेर पनि नभ्याउने बताउनुहुन्छ । उहाँले आफूहरुलाई शिक्षण अध्यापन अनुमतिपत्र पाउन पनि कठिन हुने गरेको जनाउनुभयो ।

बहिरा समुदाय साङ्केतिक भाषामा सञ्चार गर्ने भाषिक अल्पसङ्ख्यक समुदाय हुन् । उनीहरु सञ्चारमा पहुँचका लागि स्थानीय भाषा र संस्कृतिका आधारमा विकसित भएका सङ्केतहरुको दृश्य सञ्चारमा पूर्णरुपमा निर्भर हुन्छन् । नेपालले बाल अधिकार महासन्धी सन् १९८९ तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धी सन् २००६ लाई अनुमोदन गरिसकेकाले ऐन, कानुन र नीतिहरुमा ती समुदायका लागि आवश्यक प्रबन्धहरु गरिएका छन् तर तिनको सही कार्यान्वयन हुन सकेको छैन ।

नेपालमा बहिरा विद्यार्थीका लागि कक्षा १२ सम्म पढाइ हुने विद्यालय पनि जम्मा छ वटा मात्रै छन् । नक्सालको बाहिर माध्यमिक विद्यालयका साथै सिन्धुली, कास्की, वाग्लुङ, मोरङ र झापामा यस्ता विद्यालय सञ्चालित छन् । नेपाली साङ्केतिक भाषाको सबै फरक भागहरु एकीकृत गरी नेपाली साङ्केतिक भाषा शब्दकोष सन् २००३ मा प्रकाशित भएको थियो भने बेलायती राजदूतावासको समर्थनमा भाग १, २ र ३ एकीकृत गरी नेपाली साङ्केतिक भाषा शब्दकोष प्रकाशित छ । बहिरा बालबालिकाहरु औपचारिक रुपमा सन् २००६ देखि एसएलसी परीक्षामा सामेल भएका थिए । सिर्जना बहिरा स्कूल, पोखराले माध्यमिक विद्यालय चलाउन स्वीकृति सोही वर्ष पाएको थियो ।

अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३ मा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक मूल प्रवाहमा समावेश गरी शिक्षाको अधिकार सुनिश्चित गर्ने प्रतिद्धता व्यक्त गरिएको छ । शिक्षा नियमावली, २०५९ मा शिक्षामन्त्रीको अध्यक्षतामा विशेष शिक्षा परिषद्को व्यवस्था गरिएको छ भने विशेष शिक्षा नीति २०५३ ले दृष्टिबिहीन, बहिरा, बौद्धिक अपाङ्गता र शाररीक अपाङ्गता भएका बालबालिकालाई आवास सुविधासहितको शिक्षाको अवसर दिने उल्लेख गरिएको छ ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालले ‘एक जिल्ला : एक बहिरा विद्यालय’को माग उठाउँदै आएको छ । महासंघले बहिरा व्यक्तिको पहिलो भाषाको रूपमा नेपाली साङ्केतिक भाषाको मान्यता, विकास र प्रसारका साथै पैरवी पनि गर्दै आएको छ । यसले बहिराहरूको क्षमता अभिवृद्धि, नेतृत्व तथा जागरूकता, बहिरालाई दोभाषे सेवा, अधिकार, सामाजिक समानता र भेदभावमुक्त बहिरा समुदायका लागि पैरवीका कार्यहरु गर्दै आएको छ तर पनि अझै बहिरा व्यक्तिहरूसँग सञ्चार, शिक्षा, स्वास्थ्य, सीप प्रशिक्षण, र रोजगारीमा सहज पहुँच हुन सकेको छैन । रासस