५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको स्थानीय पालिकाको नीति तथा कार्यक्रममा घर उपहारदेखि सुर्ती मदिरा निषेधसम्म



अ+ अ-

हेटौँडा । मकवानपुरको १० स्थानीय तहमध्ये नौ वटाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरूले मदिरा, सुर्तीजन्य पदार्थ निषेधदेखि घर उपहारसम्मको कार्यक्रमहरू समेटेका छन् ।

बकैया गाउँपालिकाले मदिरा निषेधको कार्यक्रम अघि सारेको छ भने मनहरीले गुट्खाजन्य पदार्थ बिक्री वितरण निषेधको नीति अघि सारेको छ । यसैगरी, राक्सिराङ गाउँपालिकाले पालिका क्षेत्रमा बसाइँ सरेर आउने परिवारका लागि दुई कोठाको घर निर्माण गरिदिने कार्यक्रमसहित रु ५७ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँबाट सहर क्षेत्रमा बसाइँ सराइ दर उच्च भएपछि गाउँपालिकाले घर उपहार कार्यक्रम ल्याएको उपाध्यक्ष बनस्थम थिङले बताए ।

मकवानपुरकै कैलाश गाउँपालिकाले रु ४८ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण र कृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए । इन्द्रसरोवर गाउँपालिकाले रु ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोवरले कृषि र पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको छ ।

भीमफेदी गाउँपालिकाले रैथाने बालीलाई अनुदान दिने कार्यक्रमसहित रु ६८ करोड ५४ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष हिदम लामाले जनाए ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रु ६२ करोड दुई लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै जिल्लाको थाहा नगरपालिकाले रु ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, उद्यमशीलता र रोजगारी, विपद् व्यवस्थापन र क्षमता विकासलाई प्राथमिकतामा राखेको छ ।

हेटौँडा उपमहानगरले भने गत असार २ गते रु दुई अर्ब ६० करोडको बजेट सार्वजनिक गरेको थियो । हेटौँडाले भौतिक पूर्वाधारको कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरले आन्तरिक स्रोतबाट रु ८३ करोड ६६ लाख ६२ हजार ७०, राजस्व बाँडफाँटबाट रु ५९ करोड १४ लाख १० हजार ७ सय ३०, प्रदेश सरकारबाट रु तीन करोड ३४ लाख ६८ हजार र सङ्घीय सरकारको अनुदानबाट रु एक अर्ब १४ करोड ५० लाख व्यहोरिने प्रस्तुत नीति, कार्यक्रममार्फत उल्लेख गरेको छ ।

उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न रु आठ करोड, हेटौँडा–४ मा वासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न रु दुई करोड, चालु आवमा सम्झौता भई जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु २१ करोड २२ लाख र पद्मपोखरी मुख्य सडक विस्तार कार्यका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ ।

जिल्लाको बागमती गाउँपालिकाले बागमतीले यही असार १५ गतेभित्र बजेट ल्याउने बताइएको छ । रासस