• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बन्दीपुरका किसानलाई बाँदर धपाउने बन्दुक वितरण



तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक नि:शुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ।

ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउनका लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणमा अत्यधिकमात्रामा बाँदरले दु:ख दिएर हैरान बनाएका क्षेत्रका किसानलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले जनाएको छ । बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न गाउँपालिकाले प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो ।

खेतबारीमा लगाइएको अन्नबाली र तरकारी बाली नष्ट गर्न थालेपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने उपकरण माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । कृषकका मागलाई सम्बोधन गर्न गाउँपालिका कार्यालयले रु एक लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रले बाँदरले हैरान दिएका क्षेत्रमा वैकल्पिक खेतीका रुपमा बेसार र अदुवालगायतका खेती लगाउन कृषकलाई आग्रह गरेको छ ।

बाँदरले हैरान बनाएपछि व्यास नगरपालिका–८ र १३ गरी दुई वडामा करिब दुई सय रोपनी क्षेत्रफलमा परीक्षणकारुपमा व्यावसायिक तरिकाले बेसारखेती गर्न थालिएको छ । कार्यालयले दुई वडाका लागि रु सात लाख अनुदान प्रदान गरिसकेको वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । “हामीले पैसा दिएका छाँै, कृषकले बीउबिजन र आवश्यकपर्ने औजार खरिद गरेका छन्”, उहाँले भन्नुभयो । रासस