• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन



गण्डकी । शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ ।

गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छे«लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्व चुलिएको छ ।

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन् ।

मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिनुभयो । ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ”, उहाँले भन्नुभयो ।

“प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उहाँले बताउनुभयो ।

दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उहाँले सुनाउनुभयो । दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भव:को मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ ।

तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ । मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताउनुभयो । स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उहाँले गाउँबाटै प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री भइरहेको जानकारी दिनुभयो । मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उहाँको भनाइ छ ।

पछिल्ला समयमा विशेषत: बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताउनुभयो ।

दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उहाँको भनाइ छ । प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास(होमस्टे) सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए । त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन् । घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ ।

आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो । घरवासमा आउने पर्यटकका लागि रु एक हजार चार सयको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ । प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ ।

मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो । कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन् ।

चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताउनुभयो ।

दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताउनुभयो । “दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्”, उहाँले भन्नुभयो । पृथ्वी राजमार्गको कोत्रेबाट चार/पाँच घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ । रासस