एजेन्सी । क्रिकेटको एकदिवसीय विश्वकप अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा हुँदैछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले खेल तालिकाको मस्यौदा तयार गरी इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ ।
मस्यौदा अनुसार प्रतियोगिता अक्टोबर ५ बाट अहमदाबादबाट सुरु हुनेछ । उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । भारतको पहिलो खेल अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग हुनेछ ।
प्रतियोगिताको सबैभन्दा ठूलो खेल भारत र पाकिस्तानबीच अक्टोबर १५ मा हुनेछ । यो खेल अहमदाबादको एक लाख दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । विश्वकपको फाइनल नोभेम्बर १९ मा अहमदाबादमा नै हुनेछ ।
अहमदाबाद बाहेक पाकिस्तानका खेलहरु हैदराबाद, बैंगलोर, चेन्नई र कोलकातामा हुनेछन्।
क्रिकेट वेबसाइट क्रिकइन्फोका अनुसार आईसीसीले विश्वकप खेल्ने सबै टोलीलाई यो तालिकाको मस्यौदा पठाएको छ । उनीहरूको फिडब्याक लिएपछि, अन्तिम तालिका अर्को हप्ता जारी हुनेछ ।
सन् २०१५ र २०१९ मा भएको एकदिवसीय विश्वकपको तालिका एक वर्षअघि सार्वजनिक भएको थियो । सन् २०२३ को विश्वकपको तालिका भने अझै तय भएको छैन । प्रतियोगिता सुरु हुन ४ महिनाभन्दा कम समय बाँकी छ ।
२७ मेमा बीसीसीआई सेक्रेटरी जय शाहले विश्वकपको तालिका विश्व टेस्ट च्याम्पियनसिपमा जारी गरिने बताएका थिए । खेलतालिकामा ढिलाइ भएका कारण आईसीसीले विश्वकप खेलको टिकटको विवरण सार्वजनिक गर्न सकेको छैन ।
यसैबीच एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्ताव एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले अनुमोदन गर्न सक्नेछ । समाचार एजेन्सी पीटीआईका अनुसार पीसीबीले भारतका सबै खेल श्रीलंकामा र बाँकी खेल पाकिस्तानमा गराउनुपर्ने प्रस्ताव राखेको छ ।










