१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला



अ+ अ-

जानकी । बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्नुहुन्छ । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूल पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताउनुभयो ।

सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उहाँको भनाइ छ । “यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन । म शारीरिक रुपमा पूर्ण रुपले स्वस्थ छु”, उहाँले भन्नुभयो, “नरसिङ्गा अरु बाजा बजाए जस्तो होइन । यसलाई सासले बजाउनुपर्छ ।”

वलीले आफूसँगै समूहमा आवद्धभएका अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताउनुभयो । “यो त सीप हो । सीपलाई हस्तान्तरण गर्नुपर्छ । गरिएन भने लोपहुँदै जान्छ”, उहाँले भन्नुभयो, “अबको दुई/चार वर्षपछि मैले नरसिङ्गा बजाउन सक्दिन । नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन् । नरसिङ्गा लोप नहोस् भन्नका लागि मैले अरुलाई पनि सिकाउने गरेको छु ।”

अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको वलीको भनाइ छ । सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उहाँले बताउनुभयो ।

संस्कृति संरक्षण समूहअन्तगर्तको पञ्चेबाजा उप–समूहमा आवद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बाजा बजाउनुहुन्छ । सानैबाट नाच्ने गाउने रुची भएकाले आफु समूहमा आवद्ध भएको उहाँले बताउनुभयो । घाँटीमा झुण्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताउनुभयो । “काम त सजिलो कुन चै छ र रु १० किलोको पञ्चेबाजालाई घाँटीमा झुण्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो”, उहाँले भन्नुभयो, “महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि दशदश किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ ।”

खत्री अहिले ४३ वर्ष पुग्नुभयो । परिवारको साथ र सहयोग पाएर नै आफु पञ्चेबाजा बजाउन गाउँगाउँ जान पाउने उहाँले बताउनुभयो । पैसाभन्दा पहिचान महत्वपूर्ण भएकाले आफुले जानेको काम गर्न पाउँदा खुसी लाग्ने खत्रीको भनाइ छ । “पैसा कमाउनका लागि हामीले पञ्चेबाजा बजाएका होइनौँ । हाम्रो लागि पहिचान ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “पैसा खासै कमाइ नभए पनि गाउँमा हामीलाई पञ्चेबाजा बजाउन आउनुस् भनेर बोलाउँदा निकै खुसी लाग्छ ।” आत्मसम्मानले नै महिलालाई बलियो बनाउने खत्रीको बसझाइ छ । कुनैपनि काम गर्न महिलालाई उमेरले नछेक्ने बताउँदै उहाँले कुनै पनि काम गर्न ईच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।

सोही समूहमा आवद्ध भीमा विष्ट ५४ वर्षकी हुनुहुन्छ । उहाँले अगुवा बाजा र सानो बाजा बजाउनुहुन्छ । संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोंचले अगुवा र सानो बाजा बजाउन थालेको उहाँले बताउनुभयो । “म सानैबाट केही फरक गर्नुपर्छ भन्ने सोच्थे । जब मलाई अगुवा र सानो बाजा बजाउने जिम्मा समूहले दियो यो मेरो लागि नयाँ भयो”, उहाँले भन्नुभयो, “एउटै काम गर्न भन्दा नयाँ–नयाँ काम गर्दा नयाँ कुरा सिक्ने मौका पाइन्छ र अनुभव पनि धेरै हुन्छ ।”

विसं २०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा रू १० हजार मात्र कमाएको विष्टले बताउनुभयो । समूहको तर्फबाट पहिलो पटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो ।

भ–ूपरिधि कार्यक्रम (ताल) ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको सांस्कृति संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आवद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्कि (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङ्गा र नेपाली पोसाक छन् ।

बिहे, पूजा, उद्घाटन समारोहलगायत ठाउँमा गएर बाजा बजाउँदा महिलाले नेपाली पोसाक लगाउने गरेका अध्यक्ष विष्टले बताउनुभयो । रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८ ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पूर्खाले पहाडमा जोगाइ राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगउने उद्देश्यले पञ्चेबाजा समूह गठन गरेको उहाँको भनाइ छ । उहाँका अनुुसार सो समूूहको कोषमा अहिले रू ६५ हजार जम्मा भएको छ । समूह गठन भएदेखि उक्त समूहले रू एक लाख ३२ हजार कमाएको थियो ।

बाजा बजाउन पञ्चेबाजा समूहका महिला बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यानहुुँदै रुकुमसम्म पुग्ने गरेका अध्यक्ष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार समूूहमा ३० देखि ६५ वर्षसम्मका महिला आवद्ध छन् । रासस