६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्थित बन्दै ‘हरिचौर बजार’



अ+ अ-

ढोरपाटन । हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ । बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ ।

नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाखले उद्यान निर्माणको सुरुआत गरेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना आवश्यक हुनेहुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताए । उनले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण गर्न थालेको जानकारी दिए ।

बालउद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत गरिरहेको छ । बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ । उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ । अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उनले बताए ।

अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउँछन् । आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उनको भनाइ छ ।

“यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररुपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ”, अध्यक्ष हमालले भने, “खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जानेछौँ ।”

अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्डअनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गर्ने अध्यक्ष हमालले बताए । यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उनी बताउँछन् ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताए । बजारमा तीव्ररुपमा भवनहरु बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउँछन् । यहाँ ऐतिहासिक गलकोट दरबार छ । हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उनको भनाइ छ ।

प्रवक्ता भण्डारी भन्छन्, “हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्यरुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ ।” –डम्मर बुढामगर