काठमाडौं । कतारमा सन् २०२२ मा हुने आगामी विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौट अन्तर्गत दक्षिण अमेरिकी महारथी राष्ट्र ब्राजिलले पाराग्वेलाई २–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै ब्राजिलले छ खेलबाट १८ अंकका साथ समूहमा पहिलो स्थानलाई अझ सुदृढ गरेको छ ।
ब्राजिलका फरवार्ड नेमारले चौथो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय दुबै टिमबाट गोल हुन सकेको थिएन । तर उत्तराद्र्धको इन्जुरी समयमा ब्राजिलका लुकास पाक्वेटाले नेमारले मिलाएको पासमा गोल गरेका थिए ।
दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई भने कोलम्बियाले २–२ गोलको बराबरीमा रोकेको छ । हालसम्म तीन वटा खेल बराबरी खेलको अर्जेन्टिनाका लागि पहिलो आठ मिनेटभित्रै क्रिस्टियन रोमेरो र लियोनार्दो पारेडेसले गोल गरेका थिए ।
कोलम्बियाका लागि लुइज मोरेल र म्यागुएल बोरजाले गोल गरेका थिए । यो बराबरीसँगै अर्जेन्टिनाले ६ खेलबाट १२ अंक र कोलम्बियाले ८ अंक जोडेको छ ।
अन्य खेलहरुमा भेनेजुएला र उरुग्वे तथा चिली र बोलिभियाले बराबरी खेलेका छन् भने पेरुले इक्वेडरलाई २–१ गोलले पराजित गरेको थियो ।
अंक तालिकाः (छ खेल खेलिसकेको अवस्थामा)
१. ब्राजिल –– १८ अंक
२. अर्जेन्टिना –– १२ अंक
३. इक्वेडर –– ९ अंक
४. उरुग्वे – ८ अंक
५. कोलम्बिया –– ८ अंक
६. पाराग्वे –– ७ अंक
७. चिली –– ६ अंक
दक्षिण अमेरिकी समूहमा १० टिम राउन्ड रोबिनका लागि छनौट भइसकेका छन् । यीमध्ये सबैभन्दा बढी अंक ल्याउने चार वटा टिम सोझै विश्वकपका लागि छनौट हुनेछन् भने पाँचौं टिमले अन्य महादेशको टिमसँग प्रतिस्पर्धा गर्न पाउने छ ।
––