२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’



अ+ अ-

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आउनुभएका उहाँको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन ।

चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न थालेको छ । एक विघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दागोभी तयार भए पनि बेच्न समस्या भएको छ । बजारमा सस्तोमा पाउन थालेपछि बन्दागोभी बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ ।

“घरखर्च धान्न सकिएला की भनेर एक विघामा बन्दागोभी लगाएको थिए, बिक्री गर्न नसक्दा सुक्न थालेको छ”, चौधरीले भन्नुभयोे–“खरिद गर्न कोही पनि आएका छैनन् ।” प्रतिकिलो रु पाँचका दरले बन्दागोभी किन्न आउँदा बिक्री नगरेको उहाँको भनाइ छ ।

चौधरीले रु ७० हजार खर्च गरेर एक विघा जमिनमा बन्दागोभी लगाएको बताउनुभयो । उहाँले भन्नुभयोे, “बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु ।” प्रतिकिलो रु पाँचमा बन्दागोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उहाँको भनाइ छ ।

हाल पाउँदै गरेको मूल्यले बन्दागोभीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी  बताउनुहुन्छ । “व्यापारीसित समन्वय गर्दा बन्दागोभीको बजार छैन भन्ने खबर पाए”, उहाँले भन्नुभयो । यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दागोभी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ–धौ भएको उहाँले बताउनुभयो ।

विगत दश वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका चौधरीले बन्दागोभी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिनुभएको थियो । “बन्दागोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन”, उहाँले भन्नुभयो । तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउनुहुन्छ । “अब बन्दागोभी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ”, उहाँले भन्नुभयो । जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन् । रासस