१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?



अ+ अ-

बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ ।

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनहुन्छ प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उहाँको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । “वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।”

लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्ने उहाँ शुल्क तिर्ने गर्नुहुन्छ । दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेको उहाँले बताउनुभयो । “पक्की पुल निर्माण सुरु भएको वर्षौँ भइसक्यो, काम सकिएको छैन”, उहाँले भन्नुभयो, “पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।”

स्थानीय काठे पुल प्रयोग गरेवापत साइकलको रु १० र मोटरसाइकलको रु ३० शुल्क तिर्ने गरेका छन् । लालझाडी गाउँपालिका–४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो ।

दिनभर काठे पुल कुर्ने उहाँ नदी ओहोरदोहोर गर्नेबाट शुल्क सङ्कलन गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । “दिनमा दुई सय भन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन्”, उहाँले भन्नुभयो, “यहीँबाट आएको पैसाले घरखर्च चलेको छ ।”

सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय । “वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ”, स्थानीय सेमलाल रानाले भन्नुभयो, “काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला रु”

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दु:ख दिने गरेको छ । “बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सात महिनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ ।” रासस