७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थीको गुनासो – प्रमाणीकरण रोकिएपछि भविष्य अनिश्चित



अ+ अ-

सबै आफन्त र छरछिमेकी तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनुभएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा हुनुहुन्छ ।

भुटानी शरणार्थी शिविरमा उहाँले ३१ वर्ष बिताउनुभएको छ । शिविर नजिकै जङ्गलमा आएको हात्तीले आक्रमण गर्दा घाइते हुनुभएका उहाँको हातको एउटा पाखुरा अहिले पनि राम्रोसँग चल्दैन । विवाह दर्ताका लागि आवश्यक पैसा व्यवस्थापन गर्न नसक्दा पुनर्बास हुन नपाएको उहाँको गुनासो छ ।

वर्षौदेखि भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थीहरूलाई शिविरबाहिर आउजाउ गर्न रोकतोक नभएका कारण उहाँको विवाह शिविरबाहिर शरणार्थी प्रभावित क्षेत्रकी महिलासँग भएको थियो । आफू विवाह दर्ताका लागि भनेर सदरमुकाम चन्द्रगढीस्थित भुटानी शरणार्थी समन्वय एकाइमा बारम्बार गएको तर विभिन्न बहानामा विवाह दर्ता नै नभएको उहाँको भनाइ छ । ‘त्यहाँ पनि पैसा मागे तर दिन सकिएन’, उहाँले भन्नुभयो ।

कार्यालयभित्रकै कर्मचारी र बाहिरका व्यक्तिले समेत पैसा मागेको उहाँले बताउनुभयो । ‘बाहिरका व्यक्तिले सात/आठ हजार रुपैयाँ मागे, कार्यालयभित्रका व्यक्तिले १६ हजार रुपैयाँ मागे’, उहाँले भन्नुभयो, ‘मसँग त्यति पैसा नै थिएन ।’

विवाह दर्ता नभएपछि शरणार्थी प्रमाणीकरण नै नभएका कारण पुनर्बास हुन नपाएको उहाँको गुनासो छ । ‘शिविरमा कहिल्यै नटेकेकाहरू शरणार्थी बनेर जान मिल्ने रहेछ तर हामी सक्कली भुटानी शरणार्थीलाई भने लैजान नमिल्ने सुन्दा मन पिरोलिएको छ’, उहाँले भन्नुभयो, ‘शरणार्थी भएको सबै प्रमाण जहिले पनि दिएका छौँ र दिन्छौँ ।’

शिविरमा रहनुभएका ६२ वर्षीय खगेन्द्र भण्डारीको पनि पीडा उस्तै छ । उहाँले विवाह दर्ताका लागि आवश्यक प्रमाण जुटाउँदाजुटाउँदै प्रमाणीकरण टोली उठेको र अहिलेसम्म पुनः प्रमाणीकरण नभएको बताउनुभयो ।

‘मैले पनि शिविरबाहिरका महिलासँग विवाह गरेको थिएँ तर विवाह दर्तामा विभिन्न बहाना बनाएर रोकियो’, उहाँले भन्नुभयो । गैरभुटानीका लागि सबै प्रमाण नक्कली बनाउँदा हुने रहेछ तर हाम्रा लागि सक्कली प्रमाणले पनि काम दिएन, उहाँले दुःखेसो पोख्नुभयो । भण्डारीले भारतीय महिलासँग विवाह गर्नुभएको छ ।

वर्षाैदेखि शिविरमा बसेको र शिविरमा बसेको रेकर्डहरू हेर्दा पर्याप्त प्रमाण पनि भेटिन्छ तर कतै कुनै सुनवाइ नै नभएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विभिन्न कारणले प्रमाणीकरणमा छुटेका गरी हाल शिविरमा छ हजार ३६५ शरणार्थी छन् । शिविरमा रहँदा विवाह गरेका तर विवाह दर्ता नभएकाहरूको सङ्ख्या पनि धेरै रहेको जनाइएको छ । आफन्तहरू तेस्रो देश पुनर्बास भइसके पनि आफूहरू शिविरमै अलपत्र रहेकोमा उहाँहरू चिन्तित हुनुहुन्छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।