१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थीको गुनासो – प्रमाणीकरण रोकिएपछि भविष्य अनिश्चित



अ+ अ-

सबै आफन्त र छरछिमेकी तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनुभएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा हुनुहुन्छ ।

भुटानी शरणार्थी शिविरमा उहाँले ३१ वर्ष बिताउनुभएको छ । शिविर नजिकै जङ्गलमा आएको हात्तीले आक्रमण गर्दा घाइते हुनुभएका उहाँको हातको एउटा पाखुरा अहिले पनि राम्रोसँग चल्दैन । विवाह दर्ताका लागि आवश्यक पैसा व्यवस्थापन गर्न नसक्दा पुनर्बास हुन नपाएको उहाँको गुनासो छ ।

वर्षौदेखि भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थीहरूलाई शिविरबाहिर आउजाउ गर्न रोकतोक नभएका कारण उहाँको विवाह शिविरबाहिर शरणार्थी प्रभावित क्षेत्रकी महिलासँग भएको थियो । आफू विवाह दर्ताका लागि भनेर सदरमुकाम चन्द्रगढीस्थित भुटानी शरणार्थी समन्वय एकाइमा बारम्बार गएको तर विभिन्न बहानामा विवाह दर्ता नै नभएको उहाँको भनाइ छ । ‘त्यहाँ पनि पैसा मागे तर दिन सकिएन’, उहाँले भन्नुभयो ।

कार्यालयभित्रकै कर्मचारी र बाहिरका व्यक्तिले समेत पैसा मागेको उहाँले बताउनुभयो । ‘बाहिरका व्यक्तिले सात/आठ हजार रुपैयाँ मागे, कार्यालयभित्रका व्यक्तिले १६ हजार रुपैयाँ मागे’, उहाँले भन्नुभयो, ‘मसँग त्यति पैसा नै थिएन ।’

विवाह दर्ता नभएपछि शरणार्थी प्रमाणीकरण नै नभएका कारण पुनर्बास हुन नपाएको उहाँको गुनासो छ । ‘शिविरमा कहिल्यै नटेकेकाहरू शरणार्थी बनेर जान मिल्ने रहेछ तर हामी सक्कली भुटानी शरणार्थीलाई भने लैजान नमिल्ने सुन्दा मन पिरोलिएको छ’, उहाँले भन्नुभयो, ‘शरणार्थी भएको सबै प्रमाण जहिले पनि दिएका छौँ र दिन्छौँ ।’

शिविरमा रहनुभएका ६२ वर्षीय खगेन्द्र भण्डारीको पनि पीडा उस्तै छ । उहाँले विवाह दर्ताका लागि आवश्यक प्रमाण जुटाउँदाजुटाउँदै प्रमाणीकरण टोली उठेको र अहिलेसम्म पुनः प्रमाणीकरण नभएको बताउनुभयो ।

‘मैले पनि शिविरबाहिरका महिलासँग विवाह गरेको थिएँ तर विवाह दर्तामा विभिन्न बहाना बनाएर रोकियो’, उहाँले भन्नुभयो । गैरभुटानीका लागि सबै प्रमाण नक्कली बनाउँदा हुने रहेछ तर हाम्रा लागि सक्कली प्रमाणले पनि काम दिएन, उहाँले दुःखेसो पोख्नुभयो । भण्डारीले भारतीय महिलासँग विवाह गर्नुभएको छ ।

वर्षाैदेखि शिविरमा बसेको र शिविरमा बसेको रेकर्डहरू हेर्दा पर्याप्त प्रमाण पनि भेटिन्छ तर कतै कुनै सुनवाइ नै नभएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विभिन्न कारणले प्रमाणीकरणमा छुटेका गरी हाल शिविरमा छ हजार ३६५ शरणार्थी छन् । शिविरमा रहँदा विवाह गरेका तर विवाह दर्ता नभएकाहरूको सङ्ख्या पनि धेरै रहेको जनाइएको छ । आफन्तहरू तेस्रो देश पुनर्बास भइसके पनि आफूहरू शिविरमै अलपत्र रहेकोमा उहाँहरू चिन्तित हुनुहुन्छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।