२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर कपमा सर्वाधिक रन बनाउने पाँच ब्याटर, नेपालबाट को परे ?



अ+ अ-

काठमाडौं । हालै सम्पन्न एसिसी प्रिमियर कपको उपाधि नेपालले पायो । मंगलबार भएको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनायो । यससँगै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

१० टोलीको सहभागीता रहेको प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत समूह ए बाट नेपाल विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । समूह बी बाट पनि युएई विजेता र कुवेत उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

नेपाल र कुवेतबीचको सेमिफाइनल भारी वर्षाको कारण रद्द भएर नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो भने युएईओमानलाई डिएलएस मेथर्डमा दुई रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

घरेलु मैदान टियु र मुलपानीमा भएको यस प्रतियोगितामा ९ शतक प्रहार भए । जसमा सर्वाधिक धेरै युएईबाट चार, हङकङबाट दुई, नेपाल, साउदी अरेविया र ओमानबाट समान एक एक शतक प्रहार भएका थिए ।

टियु क्रिकेट मैदानमा ६ शतक बनेका थिए भने पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएको मुलपानीमा तीन प्रहार भए । मुलपानीमा ओमानका ओपनर जतिन्दर सिंहले मलेसियाविरुद्ध १ सय १०, हङकङका बाबर हायतले सिंगापुरविरुद्ध १ सय ८ र युएईविरुद्ध अंशुमन रथले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए ।

यस प्रतियोगितामा सर्वाधिक ठूलो योगफल युएईले बनाएको थियो । युएईले टियुमा सिंगापुरविरुद्ध ४ सय ७१ रन बनाएको थियो । यस्तै, सबैभन्दा कम योगफल कतारले बनाएको छ । समुह चरणको अन्तिम खेलमा कतार नेपालविरुद्ध ८९ रनमा अल आउट भएको थियो । यसै प्रतियोगिताको एकै इनिङमा युएईका वृत्य अरविन्दले कुवेतविरुद्ध १ सय ८५ रन बनाएका थिए ।

एसिसी प्रिमियर कपमा सर्वाधिक रन बनाउने पाँच ब्याटरमा नेपालका एकमात्रै खेलाडी अटाएका छन् । यस प्रतियोगितामा सर्वाधिक रन बनाउने पाँच खेलाडी र उनीहरुको प्रदर्शन यस प्रकार छ :

१) वृत्य अरविन्द (युएई) – ४ सय ५४ रन

एसिसी प्रिमियर कपमा युएईका युवा विकेटकिपर वृत्य अरविन्दले सर्वाधिक रन बनाए । उनले ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाएका छन् । उनले ६ खेलमा ४२ चौका र १८ छक्का प्रहार गरेका छन् ।

वृत्यले कुवेतविरुद्ध १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । यस्तै, उनले सिंगापुरविरुद्ध १७ चौका र ७ छक्कासहित १ सय ७४ रन बनाएका थिए ।

बहराइनविरुद्ध ८४ बलमा ६२ रन बनाएका फाइनलमा नेपालविरुद्ध भने ८ रनमा आउट हुन पुगेका थिए । यससँगै उनी यस प्रतियोगिताका उत्कृष्ट ब्याटर पनि चुनिए ।

२) जतिन्दर सिंह (ओमान) – २ सय ८८ रन

यस प्रतियोगितामा ओमानका ओपनर जतिन्दर सिंह कुल २ सय ८८ रनका साथ दोस्रो स्थानमा रहे । उनले ६ खेलमा १ शतक र १ अर्धशतक प्रहार गरे । उनले प्रतियोगिताभर ३७ चौका र ४ छक्का हानेका थिए ।

नेपालसँग १५ रनमा आउट भए जतिन्दरले मलेसियाविरुद्ध १ सय ११ बलमा १२ चौका र १ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । यस्तै, उनले साउदीविरुद्ध ८८ रन बनाएका थिए भने सेमिफाइनल खेलमा युएईविरुद्ध ४२ रन बनाएका थिए । कुवेतविरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा जतिन्दरले २६ रन बनाएका थिए ।

३)अब्दुल वहिद (साउदी) – २ सय ५५ रन

साउदी अरेवियाका अब्दुल वहिदले यस प्रतियोगितामा कुल २ सय ५५ रन बनाएका छन् । उनले ३ खेलमा १ शतक र १ अर्धशतक बनाए । जसमा उनले ३७ चौका र २ छक्का प्रहार गरेका थिए ।

कतारलाई ७ विकेटले हराउदा अब्दुलले १ सय २४ रनको शतकिय ईनिङ खेलेका थिए । उनी अन्तिम खेलमा ओमानविरुद्ध ८६ बलमा ९५ रनमा आउट भएपछि शतक हान्नबाट चुकेका थिए ।

४) कुशल मल्ल (नेपाल) – २ सय ३८ रन

कुशल मल्ल शीर्ष पाँचमा पर्ने एकमात्रै नेपाली ब्याटर हुन् । उनले ५ खेलमा १ शतक र २ अर्धशतकसहित २ सय ३८ रन बनाएका छन् । उनले प्रतियोगिताभर १८ चौका र १९ छक्का प्रहार गरे।

कुशलले साउदीविरुद्धको पहिलो खेलमा ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको अविजित इनिङ खेलेका थिए । दोस्रो खेलमा ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको शतकिय ईनिङ खेलेका थिए । यी दुबै खेलमा कुशल प्लेयर अफ द म्याच भएका थिए ।

कुवेतसँग ५७ रन बनाउदा उनी कतारसँग ३ रनमा आउट भएका थिए ।

५) मोहम्मद वासिम (युएई) – २ सय ३६ रन

युएईका कप्तान मोहम्मद वासिम प्रिमियर कपमा २ सय ३६ रन बनाउदै शीर्ष पाँचमा रहे । वासिमले ६ खेलमा १ शतक बनाए। उनले १६ चौका र २२ छक्का हानेका छन् ।

वासिमले विष्फोटक ब्याटिङ गर्दै सिंगापुरविरुद्ध ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रन बनाएका थिए। त्यस खेल बाहेक अन्यमा भने उनले राम्रो गर्न सकेनन्। उनी ओमानसँग ४८, बहराइन १, हङकङ र कुवेतविरुद्ध समान ८ रनमा आउट हुँदा फाइनलमा नेपालविरुद्ध ११ रनमा आउट भएका थिए ।