२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

कुमारी कोख !

कुमारी कोख !
अ अ+ अ-

“तिम्रो आमा आउनुभो ! तिम्रो आमा आउनुभो !!”

म गाडीबाट ओर्लेकी मात्र थिएँ, आँखाभरि उत्सुकता बोकेका एक हुल केटाकेटीहरू मतिर अगाडि बढे भीडमा चेपिँदै । अनमेल उमेर बोकेका अनि एकअर्कामा भिन्दै वा परिचय नमिल्ने खालका रङ र अनुहारमा सजिएका ।

सबैभन्दा पछिपछि करिब चार वर्षको फुच्चे दौडँदै थियो खुसीले रमाउँदै । “आमा आउनुभो… ! आमा आउनुभो”को सुँगा रटानमा । अरूका लागि दुलही वा बेहुली मात्रै र खास आमा चाहिँ म उसको मात्रै थिएँ । सायद त्यसैले अरूहरू मेरो वरिपरि मात्र थुप्रो लागे । तर ऊ भने हुण्डरीजस्तै आएर दुवै हातले मेरो साडी समातेर, दुवै खुट्टामा अँगालो मारेर चपक्क टाँसियो मसँग । अनि तोतेबोलीमा भन्यो, आमा…! हजुल काँ जानु भाकोथ्यो ?”

मेरो खुट्टै चलाउन अप्ठ्यारो भएपछि कोही छोरी मान्छेले उसलाई मबाट जबर्जस्ती तानेर लगिन्– “अब बाबुको आमा आइहाल्नुभयो । भलेदेखि अब छँगै खाने, छँगै छुत्ने हस् ?” उसकै लवजमा फकाउँदै थिइन् ती महिलाले ।

तर ऊ भने उनको अँगालोबाट मुक्त हुन खोज्दै रोइरहेको थियो । “नाइँ… म आमा छँग… जाने…. । आमा छँगै… बछ्ने… भन्दै ।

थुप्रै मान्छेको भीडमा दुईवटा कुर्सी मात्रै खाली राखिएका थिए । ती खास हाम्रा लागि भनेर राखिएका रहेछन् ।

“यता बस यता” कसैले हामीलाई संयुक्त सम्बोधन ग¥यो । हामी त्यतै डोरियौँ त्यही आदेशसँगै र बस्यौँ कुर्सीमा । भीडबाट अरू थुप्रै बुझिने र नबुझिने आवाज सँगसँगै उसको पनि आवाज आउँदै थियो अरूसँगै मिसिएर । ‘म पनि आमा छँगै बछ्ने… ।’

स्वतन्त्र नभएर रुवाइ मिश्रित थियो उसको आवाज अझै पनि… । किन किन मेरो मन, ध्यान भने ऊसितै थियो पहिलोपटक त्यति भेट्दा पनि ।

हाम्रा अगाडि पूजाका सामग्री राखिएका थिए । अनि दुईजना छोरीमान्छेले हामीलाई एकैचोटि पूजा र आरती गर्न थाले । आरती गरेपछि मलाई समातेर भित्र पस्न अनुरोध गरे । त्यहाँका मान्छेहरूजस्तै नयाँ र नौला थिए ती मलाई गर्न लगाइएका क्रियाकलापहरू पनि । त्यसैले आज्ञाकारी बालकझैँ म धानको थुप्रोमा पीठोको दियोमाथि बालिएको बत्ती दाहिने खुट्टाले टेक्दै टेक्दै भित्र पसेँ ।

रोलक्रमानुसार टीका लगाइदिने अथवा नयाँ मान्छेको मुख हेर्ने कार्यक्रम हुन थाल्यो । त्यो फूच्चे पनि मसँगै टाँसिएर बसेको थियो, दुईजनाको बीचमा बसे पनि । टीका लगाएर मलाई दिएको पैसा वा उपहार ‘यो मलाई’ भन्दै ऊ नै झम्टिएर लिन्थ्यो र आफ्नो अगाडि थुपारेर राख्थ्यो । एकक्षणपछि मेरो हाते व्याग पनि मबाट उसले खोस्यो । “आमाको म लाक्छु…” भन्दै त्यसैमा खुसुखुसु मलाई टीका लगाएर दिएको पैसा राख्न थाल्यो ।

उसको अबोध बालापन र मप्रतिको आत्मीयता वा झुकाव देखेर अवाक हुन्थे प्रायः सबैजना टीका लगाइदिनेहरू । आगन्तुकहरू कतिपय “विचरा…!” भन्दै आँसु पुच्छ्दै उठ्थे । कतिपयले विशेष अनुरोध गरेका थिए मलाई टीका लगाइदिँदै “यो तोते बालखको यो भरोसा र विश्वासलाई कहिल्यै मर्न नदेऊ है दुलही…।”

ऊ कहिले मेरो हात समातेर चुरा खेलाउँथ्यो । कहिले मेरो घुम्टी तानेर निकाल्न खोज्थ्यो । “यो किन लगाको आमा ! म पनि लाउँछु नि” भन्दै । कहिले मेरो दुवै हात एकै ठाउँमा तानेर औँलाको औँठी गन्थ्यो, “वान… तु… फाइप… एत… फोल ।”

दिनभरी अनेकौँ मन्त्र र विधिद्वारा आफ्नो भएको मान्छेसँग भन्दा पनि पहिले ऊसँग मेरो आत्मीय सम्बन्ध गाँसिइसकेको थियो । स्पर्श साटिएको थियो । भरोसा र विश्वासको बीज झाँगिइसकेको थियो त्यस घरमा ।

“माम खाएर आएपछि आमासँगै बस्ने ल…।” आवाजसँगै फेरि कसैले हाम्रो आत्मीयतालाई चुँडालेर टपक्क टिपेर लगे उसलाई । एउटा अलौकिकताको अनुभूत हुँदै थियो उसँगको सामीप्यमा । तर उसलाई टिपेर लाँदा ऊ सँगसँगै म पनि चुँडिएर गएँ अलिकति ।

“म त आमा छँगै माम खाने..!” नेपथ्यमा उसको आवाज धूमिल हुँदै गयो ।

सम्बन्ध पतिसँगको भए पनि मेरा आवश्यकता अरू नै कसैको थियो । यही आवश्यकता परिपूर्तिका लागि मलाई दुलही बनाएर भिœयाइँदै थियो त्यसघरमा । थुप्रै नयाँ र नौला अनुहारहरू ठोकिन्छन् मसँग विभिन्न साइनो र सम्बन्धहरू बोकेका ।

सबै कुरामा दक्ष र सक्षम भए पनि म त्यस घरमा नयाँ बेहुली थिएँ । त्यसै भएर होला सायद अरूकै निर्देशनमा आफूलाई परिचालित गरिरहेथेँ म । प्रतिक्रियाविहीन भएर ।
खाना खाएर सुत्ने कोठामा तानिएँ म पुनः यन्त्रवत् भएर । म कोठामा पुग्दा देख्छु, मेरो÷ हाम्रो सुहागरातका लागि सजाइएको ओच्छ्यानमा ऊ पल्टिरहेको छ आल्हादित भएर । कहिले सुत्छ । कहिले उठ्छ । कहिले उफ्रन्छ । कहिले गुल्टुङ खेल्छ । कहिले खुसीले नाच्छ । प्रकृतिले संसारको सबै खुसी उसैमाथि घोप्ट्याइदिएको छ यतिबेला । उसका क्रियाकलाप देखेर मलाई पनि आफू यो उमेर र बेहुली हुनुको सबै अस्तित्व बिर्सिएर उसैको खुसीमा सहभागी होऊँ जस्तै लाग्यो ।

उसले ओच्छ्यानलाई तीन भागमा लगाएको रहेछ । यहाँ म छुत्ने…। यहाँ आमा छुत्ने अनि यता बाबा छुत्ने । छेउछेउमा हाम्रो लागि ठूलो सिरानी र बीचमा आफ्नो लागि सानो सिरानी राखेर उसले आफ्नो ठाउँ बनाएको थियो ।

समय विस्तारै रात्रिउन्मुख हुँदै थियो । नेपथ्यमा कल्याङ कुलुङ भए पनि कोठामा मात्र तीन प्राणी थियौँ । ऊ, म र उनी । ऊ अप्रत्याशित रूपमा र उनीसँगको बिहेपछि स्वाभाविक रूपमा भएको आफ्नो र उनी विभिन्न मन्त्र, विधि र क्रियाकलापद्वारा बनाइएको मेरो आफ्नो मान्छे… ।

मैले अब दिनभरीको उत्तरदायित्व वहन गर्नुपरेको पक्षलाई बिसर्जन गर्न थालेँ । मलाई अझ सुन्दरी बनाउन लगाइदिएका आभुषण र परिधानहरू फुकालेर टेबलमा थुपारेँ । त्यस दिनको भूमिका निर्वाह गर्न ओडाइदिएको घुम्टी निकालेर थुपारेँ । भारी लुगा फेरेर सहज लुगा लगाएँ । भनौँ त्यस दिनको जिम्मेवारीबाट आफूलाई मुक्त गराएँ ।

पटक पटक थपिएको शृङ्गारलाई पखालेँ, जेहोस् म आफूलाई हरेक कोणबाट ताजा र सहज बनाएर कोठाभित्र छिरेँ । ऊ आफ्नो बाबुसँग जिज्ञासा पोखिरहेको थियो, “यत्लो दिन आमा काँ जानुभएको थ्यो बाबा ?”

“मामाघर ।”

“किन जानुभएको अले मलाई छोलेल…?”

“बाबुलाई खेलौना, पापा, किन्दिन जानुभाको अरे ।”

“अनि खै त आमाले ल्याइदेको खेल्नेकुला अनि पापा ?”

“उता राखेको छ नि । भोलि आमाले दिने । हस् ?”

“अनि मामाघल जाँदा बाबुलाई किन नलगेको अले आमाले…… ?”

“बाबुले झगडा गर्छ, दुःख दिन्छ भनेर नलगेको नि…।”

“अँ..म अबदेखि कहिल्यै झगला त गल्दिनँ …। दुःख पनि दिन्न ..। अब बाबुलाई छोलेल कहिल्यै नजानु भन्नु ल बाबा आमालाई…।”

बाबा छोराको अन्तरङ्ग वार्तालाप सुनेँ एकैक्षण ढोकैमा उभिएर । जब म भित्र पसेँ, उनले मलाई लक्षित गर्दै उसलाई सम्झाए, “ऊ आमा पनि आउनुभो । अब तिमी ज्ञानी बनेर सुत न त हस्… ?”

ऊ सुत्नुको सट्टा झन् उत्साहित हुँदै उठेर मपट्टि फर्किंदै भन्यो– “आमा ..! अबदेखि मलाई छोलेल… ।”

जब उसका र मेरा आँखा जुधे, अगाडि वाक्य पूरा गर्न सकेन उसले । मलाई हेरेर त्यतिकै अड्कियो उसको बोली । र हेरेको हे¥यै ग¥यो मलाई जिज्ञासु नयनले । म नै उसको मनोदशा पढेर अगाडि बढ्दै भनेँ, “ल बाबा । अबदेखि म बाबुलाई छोडेर कहिल्यै पनि जान्न । बाबुसँगै बस्छु । अनि बाबुसँगै खेल्छु । हुन्छ… ? म शब्दसँगै ऊ भए ठाउँमा पुगेँ र उसलाई मायाले सुम्सुम्याउन थालेँ ।

“नाइँ… ।”

चिच्याएर उसले उसले मेरो हात झट्कार्यो । ढकमक्क गुलाफ फूलेको उसको मुहार अहिले सुकेको पलाँस भयो । सशङ्कित, भयभित र रुन्चे अनुहार बनाएर उसले भन्यो– “तपैँ मेलो आमा होइन के… । तपैँ किन आको याँ ? जानु बाहिल के …।”

झस्कियौँ हामी दुवैजना, उसको यस अप्रत्याशित अस्विकारोक्तिले ।

“हो त तिम्रो आमा त हो नि”.. प्रमाणित गर्न खोजे उनले ।

“हैन… । हैन… । हैन… । यो मेलो आमा हैन के… ।” दृढनिश्चयी भएर प्रतिकार ग¥यो उसले । हामीले मुखामुख ग¥यौँ । बाबासँग टाँसिएर ठुसठुस गर्दै सुत्यो ऊ ।

उसको एउटा खुसीको संसार भताभुङ्ग भएको थियो । विश्वासको पहाड भत्किएर चकनाचुर भएकोमा नरमाइलो लाग्छ मलाई । मैले कति प्रयास गरेँ, फकाएँ र प्रमाणित गराउन खोजेँ उसको म आमा नै हो भनेर तर उसले बालहठ देखाइ नै रह्यो । त्यो पनि पूर्ण विश्वासका साथ । अहँ पग्लेन कसै गरे पनि । एकचोटि पनि फर्केर हेरेन मपट्टि । झन् अँगालो मारेर चपक्क टाँसियो आफ्नो बाबासँग ।

अघिसम्म “अब कहिल्यै पनि आमालाई जान नदिने ल” भन्दै बाबालाई बारम्बार अनुरोध गर्ने उसलाई पुनः एकचोटि फकाउने उद्देश्यले घुक्र्याउँदै भनेँ, “अब त्यसो भए आमा फेरि मामाघर जाउँ त बाबूलाई छोडेर.. ?” छेउमा बसेर सुम्सुम्याएँ ।

“जानु … जानु । हजुल मेलो आमा हैन के …।” पुनः पग्लेन ऊ ।

वास्तवमा म उसको आमा थिइनँ नै अनि कसरी स्विकारोस् त जबर्जस्ती भन्दैमा । तीन महिनाअघि मात्र उसको आफ्नी आमाले यस संसारलाई र आफ्नो चार वर्षे छोरालाई छोडेर अप्रत्याशित रूपमा गइन् कहिल्यै नफर्किने गरेर । अहँ उनलाई आफ्नो प्राणभन्दा प्यारो लाग्ने सन्तानको मायाले रोकेन । उनले उसलाई संसार त देखाइन् तर संसार चिनाउने दायित्वबोध बिर्सेर सुटुक्क लागिन् अनन्ततिर… ।

उसको तोतेबोलीको अर्थ नै नबुझी हराइन् शून्यतामा । ढुङ्गाभन्दा कठोर भयो उनको मातृवात्सल्य । हिउँ भएर जम्यो ममता पनि सायद । त्यसैले त उसले गुमाएको अपूरो, अधुरो, अतृप्त मातृ वात्सल्य र ममता परिपूर्तिका लागि मलाई भित्राईएको थियो त्यस घरमा केही घण्टाअघि । उसको बाबुसँगको साइनोमा बाँधेर । खासमा मेरो आवश्यकता प्रत्यक्ष उसको बाबुसँग देखाइए पनि उसलाई मात्र थियो अप्रत्यक्ष रूपमा ।

मैले फेरि फकाएँ, अहँ उसले पटक्कै मान्दै मानेन । बाबाले विश्वास दिलाउन खोजे पनि पत्याएन । साँच्चै कसरी बिर्सन्थ्यो होला र यति चाँडै उसले आफू एउटा तुच्छ र सुक्ष्म भू्रण पसेर १० महिनासम्म बसेर आफ्नो स्वरूप र अस्तित्व निर्माण भएको कोखलाई ? कसरी बिर्सन्थ्यो होला र जीवनको बोध गराइदिने आफ्नो आमाको न्यानोपनलाई ?

संसारमा प्रथम परिचय उसको आफ्नो आमासँग भएको थियो । संसारमा प्रथम पटक आँखा खोल्दा उसले पढेको पीडा र हर्ष मिश्रित अदिप्त स्निग्ध अनुहार उसको आमाको नै त थियो जुन अनुहार उसको स्मृतिमा अझ ताजै छ ।

उसले धर्तीमा ओर्लने बित्तिकै पाएको त्यो मायालु स्पर्श र छातीको तातोपन, उसमा कहाँ सेलाएको छ र ? चार वर्षसम्म आमाको काखमा उफ्रँदै दुग्दामृत घुटुघुटु पारेको स्वाद उसको जिब्रोले अझै बिर्सेकै त छैन । उसले चार वर्षसम्म आमाबाट पाएको त्यो मातृ सुगन्ध… त्यो स्निग्ध अनुहार… कसरी सजिलै ममा रूपान्तरण गर्न सक्थ्यो र ? त्यसैले उसले स्विकारेन मलाई उसको आमाको ठाउँमा प्रतिस्थापन गर्न । अन्तत ऊसँगै निराश भएँ म पनि ।

मलाई पहिले नै सबै कुरा प्रस्ताव स्वरूप राखिएको थियो । मैले एउटा चार वर्षको मातृविहीन अतृप्त टुहुरो बालकलाई आमा भएर आफ्नो मातृ वात्सल्यले ओतप्रोत गर्नुपर्ने छ । कुनै उजाड बँगैचामा फुल्न नसकेको कोपिलालाई वात्सल्य सिञ्चित गरी त्यसलाई ढकमक्क भएर फुलाउनु पर्नेछ । सुगन्धित र मनमोहक पार्नुपर्नेछ ।

“आफ्नो सानो सहयोगले कसैले जीवन पाउँछ भने कुनै उजाड बगैँचा ढकमक्क हुन्छ भने किन मैले जीवनको सदुपयोग नगर्ने ?” त्यही विचार गरेर मैले सहस्र स्वीकार गरेकी थिएँ उक्त प्रस्तावलाई । मेरो सानो छातीमा लुटपुटिएर मातृवात्सल्यबाट वञ्चित त्यो अबोध बालकले वात्सल्य कुण्ठाबाट मुक्त होस् भन्ने ठानेँ मैले ।

मैले पनि उसकै जस्तै अबोधावस्थामा नै मेरी आमा गुमाएको थिएँ । मातृ वात्सल्यको अतृप्तता कुण्ठा भएर झाँगिरह्यो जीवनभर । मैले पनि मातृ ममताको मीठो स्पर्शको आशैआशमा फक्रनु परेको थियो, एउटा सानो कोपिलाबाट । त्यसैले उसको पीडाबाट विरेचित भएर आपूmलाई समर्पित गर्न चाहेँ उसका लागि ।

हुन त म उसको वास्तविक आमा हुन सक्तिनथेँ तर म उसलाई कोख दिन नसके पनि काख त दिनसक्छु । मायालु स्पर्श र वात्सल्य दिन सक्छु । छातीको न्यानो त दिन सक्छु । यस्तै साचेर नै होमिएकी थिएँ म यस यज्ञकुण्डमा । तर आज उसले स्वीकारेन सहज रूपमा मलाई । यो अस्वाभाविक पनि ठानिनँ मैले  । त्यसैले मेरो मन त्यति धेरै दुखेको पनि थिएन किनभने कुनै पनि कुरा, वस्तु वा प्राणीसँग सहज हुन, घुलमिल हुन दुईचार दिन लाग्छ नै । सहस्र स्वीकार गरेँ मैले उसको अस्वीकारोक्तिलाई ।

००

अकस्मात् कसैले गम्लङ्ग अँगालो हालेपछि मेरो तन्द्रा भङ्ग भयो । झसङ्ग भएँ म । उनले मलाई आफूपट्टि फर्काए । निधारमा चुम्बन गरेँ अनि अँगालोमा च्यापेर सुम्सुम्याउँदै भनेँ “सन्जु ! मलाई माफ गर ल ।”

“किन र हजुरले माफ मागेको ?” बिस्तारै सोधेँ ।

“कुनै पनि नारीले आफ्नो सुहागरातलाई यसरी बित्ला भनेर सोचेको हुँदैन होला । तिम्रो एउटा अधिकारबाट वविचत गराएँ मैले ।”

उनी निकै भावुक हुँदै थिएँ । मभन्दा पनि बढी… । मैले फुच्चेपट्टि हेरेँ, ऊ निश्चल भएर अबोध र अतृप्त निन्द्रा निदाइरहेको थियो । रुन्चे अनुहार बनाएर… ।

राति सुतेपछि मैले तानेर छातीमा टाँस्न खोजेँ उसलाई । ऊ झस्किएझैँ गरेर अर्कोपट्टि फर्केर कुक्रुक्क प¥यो । बिस्तारै मैले उसको डँडेल्नोमा आफ्नो छाती टसाएँ । मेरो छातीको तातो उसको शरीरमा सञ्चार भइरहन्थ्यो । अपार सन्तुष्टि पाएँ मैले ।

दिनपिच्छै म क्रमशः ऊसँग नजिक हुन खोजिरहेँ । तर ऊ भने मबाट टाढा भागिरहन्थ्यो । कहिले म खानेकुरा र चकलेट दिएर फकाउँथे भने कहिले खेल्नेकुरा देखाएर । ऊ पहिला पहिला त छेउमा आउन नै मानेन तर पछि पछि चाहिँ डराई डराई म छेउमा आउँथ्यो । खानेकुरा वा खेल्ने कुराको लोभले अनि मेरो हातबाट फुत्त खोसेर उन्मुक्त हुँदै भाग्थ्यो ।

ऊ जहिले पनि सुत्दा पहिले बाबासँग नै सुत्थ्यो । जब ऊ निदाउँथ्यो अनि म उसलाई आफ्नो अँगालोमा च्यापेर सुत्थेँ । उसले म भनेर थाहा नपाउन्जेल निदाउँथ्यो । तर जब ऊ ब्युँझन्थ्यो वा थाहा पाउँथ्यो तब असहज मान्थ्यो र मेरो अँगालोबाट फुत्किएर अर्को पट्टि फर्किएर सुत्थ्यो । पछि पछि अलिक सहज मान्दै गयो मेरो स्पर्शलाई उसले ।

एकरात म अप्रत्याशित रूपमा बिउँँझिएँ । मेरो छातीमा अलिकति पीडा अलिकति कुत्कुती र अलिकति असहजता महसुस भइरहेको थियो । छातीमा केही चपक्क टाँसिएजस्तो झुन्डिएजस्तो भो । मैले आश्चर्यमान्दै विस्तारै एक हातले सिरानीमा नै भएको बेडस्वीच थिचेँ । कोठा मुस्कुरायो उज्यालोले । उसको मप्रतिको विश्वासले हैरान भएँ म ।

ऊ मेरो कुमारी स्तन चुसिरहेको थियो ।

उसको व्यवहारले म असहज भएँ । के गरौँ कसो गरौँ मैले निणर्य गर्न सकिनँ । उसलाई आफूबाट छुटाऊँ त ऊ मप्रति एउटा भरोसा र विश्वासले मेरो कुमारी स्तन चुसेर ऊ अतृप्त मातृवात्सल्य पूरा गरिरहेको थियो । भ्रममै भए पनि । नछुटाऊँ त मेरो कोख कुमारी नै थियो । मेरो स्तन कुमारी नै थियो । न मेरो स्तनबाट दूध आउँथ्यो न त ऊ नै दूध चुसेर अघाएर तृप्त हुन्थ्यो ।

ऊ मेरो स्तन चुसेर जुन तृप्तता अथवा सन्तुष्टि खोज्दै थियो त्यो एउटा तीतो सत्य वा भ्रम मात्र थियो जसबाट ऊ अनभिज्ञ थियो । तैपनि आफूलाई जति असजिलो भए पनि उसको त्यो विश्वासको भ्रम टुट्छ कि भन्नेमा सतर्क थिएँ म । तर धेरैबेर पछि या त उसले खोजेको भेटेन (दूध आएन) या त सन्तुष्ट भयो, ऊ यसो चलमलायो ।

अवचेतन अवस्थामा गरेको उसको क्रियाकलापबाट ऊ चेतनामा आउँदा मलाई देखेर निराश हुन्छ भनेर मैले ऊ पूर्णरूपमा नबिउँझदै विस्तारै उसको मुखबाट आफ्नो स्तनको मुन्टो छुटाएर अर्कोपट्टि फर्कें । एकातिर उसको भरोसा र समर्पणप्रति सन्तुष्ट हुँदै थिएँ भने अर्कोतिर

सङ्कोच र अनौठो अनुभूति… ।

केही क्षणपछि विस्तारै मेरो डँडेल्नोमा उसले

कोट्यायो । मैले नथापाएजस्तो गरेँ तर ध्यान त्यहीँ लगाएँ । उसले फेरि पनि कोट्याउँदै अँगालो मा¥यो सानो हातले । अझै म चुपचाप भइरहेँ । मन भक्कानिँदै थियो । उसले फेरि मलाई समाएर तान्यो । अझ भनौँ साङ्केतिक रूपमा ऊपट्टि फर्कन अनुरोध ग¥यो । उसको यो अबोध क्रियाकलापले म झन् अधिर भएँ । ऊसँग सुतेकोमा ऊ रिसाउने पो हो कि भन्ने डर लाग्यो ।

उसले बाबा ठानेर मलाई फर्काउन खोजेको पो हो कि ? उसको विश्वास टुट्ला कि भन्ने डरले डराई डराई म बिस्तारै ऊपट्टि फर्किएँ । उसले पुलुक्क मेरो आँखामा हे¥यो । एकक्षण आँखा जुधायो अनि मेरो छातीमा चपक्क टाँसियो ।

मैले अँगालोमा बेरेर झन् टासेँ उसलाई । छाती त्यसै त्यसै आकाशजत्रो भयो । जिउ हलुङ्गो भएर कपासजस्तै माथि माथि उडेजस्तै लाग्यो । तर मुटु गाँठो परेर भक्कानियो । आँखाबाट अविरलरूपमा आँशु बग्न थाल्यो । उसले दबेको स्वरमा तोते बोलीमा भन्यो, “आमा ! अब कहिल्यै मलाई छोलेर… मामाघल.. नजानु ल.. ?”

“हछ् बाबा म अब कहिल्यै पनि बाबुलाई छोलेल जान्न… ।” उसलाई चुम्बन गर्दै भनेँ उसकै लवजमा र झन् च्यापेँ उसलाई ।

जङ्गलका हिंस्रक पशु त माया र प्रेमले आत्मीय बन्न सक्छन् भने ऊ त एउटा स्निग्ध, फूलको कोपिलाजस्तै अबोध बालक न थियो । मेरो वात्सल्य प्रेमले उसको भरोसा जित्न सफल भएकी थिएँ म । उसलाई अँगालोमा च्यापेर छातीमा टाँसिरहँदा मेरो कुमारी कोख टनाटन भरिएर छताछुल्ल भएको अनुभूति भइरहेको थियो ।