२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको नरसिंहकोटमा थपिँदै पर्यटन पूर्वाधार



फाईल फोटो
अ+ अ-

ढोरपाटन । उदीयमान सहर बुर्तिबाङको शिरमा छ नरसिंहकोट । बागलुङको निसीखोला गाउँपालिका–७ मा स्थित नरसिंहकोटको धार्मिक, पर्यटकी तथा ऐतिहासिक रूपमा निकै चर्चित ठाउँ हो ।

पर्यटकीय हिसाबले चर्चित भए पनि पूर्वाधार नबन्दा केही वर्ष अगाडिसम्म पर्यटकको आगमन न्यून थियो । जब निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दियो, त्यसपछि यहाँ दैनिकी पर्यटक आउन थालेका छन् । गाउँपालिकाले पनि नरसिंहकोटलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा जुटेको छ ।

नरसिंहकोट पुरोना राज्यसमेत भएको हुँदा यहाँ पर्यटकहरू बढी आउने गरेको पाइन्छ । तत्कालीन बाइसे चौबिसे राज्य हुँदा जिल्लाको धेरै ठाउँमा विभिन्न राजाहरूले राज्य सञ्चालन गरेको पाइन्छ । त्यसमध्ये नरसिंहकोटमा पनि भूरे राजाले राज्य सञ्चालन गरेको इतिहास छ । पहिले राज्य सञ्चालन भएको यस ठाउँ प्राकृतिक रूपमा मनोरम हुँदा आगन्तुकको आकर्षण बढ्दो छ । केही वर्षयता यहाँ निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य निर्माण गर्न मठमन्दिर लगायतका संचरना निर्माण गरिरहेको छ । तत्कालीन अवस्थामा भूरे राजाले दरबार बनाएर करिब आठ वर्ष राज्य सञ्चालन गरेको स्थानीय ८३ वर्षीय टीकाबहादुर कुँवर बताउनुहुन्छ ।

करिब एक दशक राज्य सञ्चालन गर्दा यहाँ राजा बस्ने दरबार, पौवाहरू निर्माण भएको र विस्थापित भएपछि सबै संचरनाहरू जीर्ण भएर भत्किएको कुँवरले बताउनुभयो । दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडिसम्म भग्नावशेष भेटिने गरेको स्थानीयवासीको भनाइ छ । यस ठाउँमा राजकुट पनि छ । राजकुट र नरसिंहकोटको सम्बन्ध रहेको बूढापाका बताउँछन् ।

नरसिंहकोटमा राजा कुटिएका थिए

नरसिंहकोट र राजकुटको नजिक–नजिक पर्छन् । नरसिंहकोट अग्लो डाँडामा छ भने त्यही तलतिर राजकुट गाउँ छ । ‘राजकुट’ तत्कालीन बाइसे चौबिसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोट’ भन्ने गरिएको र अहिले आएर ‘राजकोट’लाई राजकुट भन्ने गरिएको कुँवरको भनाइ छ । ‘नरसिंहकोट’ भने राजाले पूजाआजा गर्ने नरसिंह देवताको नामबाट नामकरण भएको कुँवरले बताउनुभयो । भूरे राजा र प्यूठानी राजाबीच युद्ध भएको र प्यूठानी राजले भूरे राजाको वंश नाश गरी दिएसँगै उहाँका सयौँ सिपाहीहरूको युद्धमा ज्यान गएको कुँवर बताउनुहुन्छ ।

उहाँका अनुसार प्यूठानी राजाले भूरे राजाका धेरै सिपाहीलाई भिरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरूको स्मृतिमा नरसिंहकोटमा ‘नरसिंह मन्दिर’ निर्माण गरिएको बताउनुभयो । उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको कुँवरको भनाइ छ ।

नरसिंहकोटमा अहिले पनि अहिले पनि मन्दिर छ । अहिले गाउँपालिकाले मन्दिरको जीर्णोद्वार गरेको छ । मन्दिर जीर्णोद्वारपछि चिटिक्क बनेको छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा समेत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

केही वर्ष अगाडिसम्म दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयवासी बताउँछन् । अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने उनीहरूको भनाइ छ् । राजाले राज गरेको क्षेत्रमध्ये हाल गरिब एक सय रोपनी गुठीको जग्गा रहेको छ । त्यसमध्ये केही खेत र केही बाँझो जमिन बताइएको छ । ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणीय छ ।

पूर्वाधार थप्दै स्थानीय सरकार

स्थानीय सरकार गठनपछि निर्वाचित जनप्रतिनिधिले थालेको नरसिंहकोट प्रवरद्धन अभियान अहिले पनि सञ्चालन भइरहेको छ । राजा विस्थापित भएपश्चात् निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरिरहेको छ । राजकुटमा पर्ने नरसिंहकोट निसीखोलाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचत छ । अग्लो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको नरसिंहकोटले आन्तरिक मात्रै नभई विदेशी पर्यटकलाई पर्खिरहेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकसमेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका–७ का अध्यक्ष दीपक कुँवरले (दीपु) जानकारी बताउनुभयो । दैनिकजसो आन्तरिक पर्यटक मन्दिरमा आउने गरेको बताउनुभयो । बुर्तिबाङ बजारदेखि नजिक रहेको हुँदा गाडीमा १ घण्टा र पैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ ।

अध्यक्ष कुँवरका अनुसार पर्यटन पदमार्ग निर्माणसँगै पर्यटन पार्क, पाटी, पौवा, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुन: निर्माण लगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा निसीखोला गाउँपालिकाबाट ११ लाख र गण्डकी प्रदेश सरकारबाट विनियोजित रु आठ लाखले कालिका मन्दिर निर्माणसँगै पदमार्ग विस्तार गरिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष कुँवर भन्नुहुन्छ, “अहिले नरसिंहकोटलाई फरक देख्न पाइन्छ, पहिलेको तुलनामा अहिले धेरै व्यवस्थित भएको छ, यहाँसम्म आउने सडक, पदमार्गलाई पनि हामीहरूले सहज बनाएका छौँ, त्यही भएर पनि होला पर्यटकहरू सधैँ आउनुहुन्छ, अब बढी त बिदा र चाडपर्वको बेला आउनुहुन्छ, यो ठाउँ वनभोजका लागि उपयुक्त हुँदा धेरै मान्छेहरू वनभोजका लागि पनि आउँछन्, यहाँ अझै संरचना निर्माण गर्न बाँकी छ, बिस्तारै पूरा गर्दै जाने गरी काम भइरहेको छ ।”

यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्लाहरू र उच्च पहाडी भेगहरूको अवलोकन गर्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकको केन्द्रमा रहेको हुँदा यहाँ भारतीय पर्यटकलाई बढी भित्र्याउन सकिने देखिन्छ । रासस