२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लयमा फर्किदै घलेगाउँका घरबास



लमजुङ घलेगाउँ
अ+ अ-

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०/५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए ।

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भन्नुभयो, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा यतिबेला बिस्तारै पर्यटक आउन थालेका छन् ।” दैनिकजसो ३० देखि ५० र शुक्रबार, शनिबार तथा बिदाको समयमा एक सय जनाभन्दा बढी पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

वितगमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म पर्यटक आउने गरेको र आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा यहाँका घरबास सञ्चालकहरूले गरेका छन् । यहाँ पर्यटकीय ‘सिजन’मा प्रतिघबासले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

यसअघि पर्यटक नआउँदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चाल अहिले पर्यटक आउन थालेसँगै पर्यटक सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका घरबास सञ्चालकहरूलाई दुई–चार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ ।

विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास सञ्चालनमा रहेका छन् । तीन सयजना एक रातमा बास बस्न सक्नेछन्, साथै यहाँ दुईवटा होटलसमेत सञ्चालनमा रहेका छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।

तत्कालीन सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन गाउँ हो । यस गाउँमा करिब एक सय ३५ घरधुरी रहेको छ ।

यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठद सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छे« हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, ६ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ । यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकहरूले गाउँघरमै उब्जाइएका अग्र्यानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायतको परिकार खुवाउने गर्दछन् ।

घरबासमा आएका पर्यटकहरूलाई सत्कारसँगसँगै आफ्ना कलासंस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरूको जातीया पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झँक्री, सेर्गा लगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ ।

पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ । पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो ।

घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । यस गाउँमा पैदल यात्रा गरेमा करिब ६ घण्टा समय लाग्दछ भने काठमाडौँबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । रासस




भर्खरै