• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

महानगरको फोहर टेलिकमको कार्यालयमा , टेलिकमबाट खेद प्रकट



वीरगञ्ज । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो ।

वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ ।

टेलिकमले अप्टिकल फाइबार विच्छ््याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको र पटकपटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहर फाल्नुपरेको महानगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।

कार्यालयमै फोहर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उहाँको भनाइ थियो । गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकामा हालसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको महानगरप्रमुख सिंहले बताउनुभयो ।

यसैबिच नेपाल टेलिकमले उक्त घटना प्रति खेद व्यक्त गरेको छ । प्रवक्ता नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले एक बिज्ञप्ति जारी गर्दै नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र आज बिहान करिब ९.१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरुको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

बिज्ञप्तिमा महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानको विरुद्ध हुनेगरी उक्त समूहद्वारा भएको यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गर्दछ भनिएको छ ।

टेलिकमले उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै कम्पनी भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गरएको छ ।