• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी

कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने मिटरब्याज पीडितको घोषणा



काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पीडितहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।  सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखेका छन् ।

सर्लाहीबाट हिजो (सोमबार) काठमाडौं आएका पीडित चन्द कुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनैपनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताए । सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको पीडितहरुको आरोप छ ।

‘२०७८ असोज १ गते मिटरब्याजी ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्षलगायतको हाम्रो टोली गएर सरकारसँग पाँच बुँदे सम्झौता गरेको थियो । उक्त पाँच बुँदे सम्झौतामा सरकारले आजसम्म कुनै पहल र चासो दिएको देखिएन,’– उनले भने ।

उक्त समयमा सरकारले गठन गरेको कार्यदलले पीडितको बस्तीमा पुगे अतिनै राम्रो प्रतिवेदन बनाएर सरकारलाई पेश गरेपनि कानुन अभावका कारण कार्यान्वयन नभएको उनको दाबी छ । पीडितलाई न्याय दिनका लागि तत्काल भएका कानुन संशोधन र आवश्यक कानुन बनाउनुको विकल्प नभएको उनको भनाई छ ।

‘उहाँहरुले एउटा कार्यदल त गठन गर्नुभयो । कार्यदलले गाउँ–गाउँमा गएर हाम्रो समस्या बुझेर अति नै राम्रो प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदनलाई हामी पीडितहरुले स्वागत पनि गर्यौं । प्रतिवेदनमा सबैभन्दा ठूलो कुरा कानुन परिमार्जन गर्नुपर्ने थियो । मिटरब्याज पीडितहरुको पक्षमा वकिलले वकालत गरिदिनका लागि, न्यायाधीशले फैसला गरिदिनका लागि कानुन अपुग छ । त्यो सरकारले बनाइदिनपर्ने थियो । आजसम्म सरकार त्यतातिर ध्यानै दिएन,’– उनले भने ।

नेपालमा रहेका जतिपनि मिटरब्याज पीडितले आफूलेजस्तो संघर्ष गर्न नपरोस् भनेर आफूहरुले संघर्ष जारी राखेको उनको भनाई थियो ।
मिटरब्याज पीडित पुनम महतोले पीडितहरुलाई नै थुनामा पठाउन जारी भएको पक्राउ पुर्जी खारेज गर्न सरकारसँग माग गरिन् । थुनामा रहेका पीडितको रिहाइका लागि पहल गर्नपनि उनले सकारलाई आग्रह गरिन् । पीडित जनताले अदालतबाटसमेत न्याय नपाएको उनको आरोप छ ।
‘जसलाई सरकारले जेलको (थुनामा पठाउन) पत्र काटेको छ । सरकारले आदेश दिएर त्यो रोकिदिन पर्यो । जेलभित्र भएकालाई रिहा गरिदिनुपर्यो । मिटरब्याजी पीडित दिदी बहिनीहरु धेरै जेलमा छन् । पीडित जेलमा छ । पीडक बाहिर छ,’– उनले भनिन् ।

त्यसैगरी, पीडित रुकमणि चौधरीले आफू श्याम परदेशीका कारण पीडित बन्नुपरेको बताईन् । सरकारले श्यामलाई जेलमा राखेरपनि आफूहरुले न्यायको महशुस नगरेको उनको भनाई छ ।सरकार मिटरब्याज पीडितको पक्षमा गम्भीर नभएको उनले बताईन् । सरकारले न्याय नदिएसम्म आफूहरु काठमाडौं छाडेर नजाने पनि उनले उद्घोष गरिन् ।

अर्का पीडित शिवशंकर महतोले अहिले सरकारका कुनै पनि संयन्त्रले काम नगरेको टिप्पणी गरे । सरकारले पीडितको पक्षमा काम गर्न नसकेको उनले बताए । पीडितहरुको पक्षमा धमाधम पक्राउ पुर्जी आइरहँदा पनि सकारले यसलाई रोक्ने र पीडितलाई न्याय दिने पक्षमा कुनै कदम नचालेको उनको आरोप छ । सरकारले केही दिनअघि मिटरब्याज पीडितको नाममा वाईसिएलका नेतासँग सम्झौता गरेको बताए । तर, उक्त संम्झौता कार्यान्वयन हुनै नसक्ने उनले बताए । ‘अस्तिमात्रै एउटा टिमले जो वाईसिएलको इन्चार्ज छ, ऊ सँग सम्झौता गरेको छ । सम्झौतामात्रै गर्ने की पालना पनि गर्ने ? अहिले गरिवहरुलाई पक्राउ पुर्जी जारी छ । एक लाख लिएको पाँच लाखको कपाली भएको छ । उनीहरुको थोरै भएको सम्पत्ति पनि लिलाम भइरहेको छ । मिटरब्याजलाई अपराध घोषणा गरेको छ । सरकारले अपराधीलाई कारबाही गर्न पर्दैन्?– उनले प्रश्न गरे ।

सरकारले केही दिनअघि मात्रै मिटरब्याज पीडितका एउटा समूहसँग वार्ता गरेपनि फेरि हिजो (सोमबार) विभिन्न १४ जिल्लाका मिटरब्याज पीडित काठमाडौं प्रवेश गरेका छन् । करिब छ सयको संख्यामा रहेका पीडितहरु अहिले शान्ति वाटिकामा रहेको बताइएको छ ।